साप्ताहिक संवाददाता
हिन्दू मान्यताअनुसार घोडाको उत्पति समुन्द्र मन्थनबाट भएको हो । कथाअनुसार समुन्द्र मन्थन गर्दा ऐरावत हात्तीपछि उच्चश्रैवा निस्किएको थियो । देवता तथा दानवहरूबीचको सहमतिअनुसार त्यतिबेला उक्त घोडा देवताहरूका राजा इन्द्रलाई प्रदान गरिएको थियो । भनिन्छ, इन्द्रको रथ यही घोडाले तान्थ्यो ।
अश्वशीर
पौराणिक कथाअनुसार श्रीमहादेवका भक्त ऋषि दधिचीले दानवहरूको संहार गर्न आफूलाई आहुती दिएर आफ्ना हाड बज्र बनाउन दिएका थिए । उक्त घटनापछि आफ्नो जीवन गुमाएका ऋषि दधिचीलाई पुर्नजीवन दिन अश्विनीकुमारले आफ्ना दुईमध्ये एक टाउको दिए । उक्त टाउको प्राप्त गरेपछि दधिचीको नाम नै अश्वशीर भएको थियो ।
अश्विनीकुमार
देवताहरूका वैद्य अश्विनीकुमारको घोडा दुईवटा टाउको भएका व्यक्ति थिए । उनको उत्पति सुर्यदेवले आफ्नी पत्नी संज्ञालाई सन्तुष्टी दिने क्रममा भएको बताइन्छ ।
ह्यग्रिव दैत्य र ह्यग्रिव अवतार
कश्यप ऋषिका दैत्यपुत्रको नाम ह्यग्रिव थियो । ह्यग्रिवको अर्थ हुन्छ, घोडाकोजस्तो टाउको र घाँटी भएको मानिस । कालान्तरमा ह्यग्रिवले देवत्व प्राप्त गर्न भगवान विष्णुको तपस्या गरेका थिए । ह्यग्रिवको तपस्याबाट प्रशन्न भएका भगवान विष्णुले उनका दानवीय स्वभाव समाप्त गर्न र उनलाई आफूमा लीन गराउन ह्यग्रिवको अवतार लिनुभएको थियो ।
अश्वमेध यज्ञ
हिन्दू धर्मशास्त्रमा यज्ञको ठूलो महत्व छ । यज्ञहरूमा पनि अश्वमेध यज्ञलाई सबैभन्दा ठूलो मानिन्छ । ऊक्त यज्ञमा चत्रवर्ती राजाले घोडाको विशेष पुजा गरेर त्यसलाई चारै दिशातिर छोड्छन् । शास्त्रअनुसार त्यसरी छाडिएको घोडाले एक दिनमा जति ठाउँ ओगट्न सक्छ ती ठाउँमा तिनै राजाको शासनाधिकार स्थापित हुन्थ्यो । कथमकदाचित कसैले त्यो घोडा रोके उसले सम्बन्धित राजासित युद्ध गर्नुपर्थ्यो भने पराजित भएको अवस्थामा दास हुनुपर्थ्यो ।