दिलीप गुरुङलाई कलाकार बनेर संसार घुम्छु भन्ने कहिल्यै लागेको थिएन । ड्राइभिङ पेसामा संलग्न गुरुङ गाडी चलाउँदा आफ्ना यात्रुहरूलाई मनोरञ्जन प्रदान गर्न चुट्किला भन्थे भने यात्रुहरूसँग रमाइलो कुराकानी समेत गर्थे । तिनै यात्रुले फेसबुकमा अपलोड गरिदिएको भिडियोबाट दिलीप रातारात भाइरल भए । संसारभर उनका भिडियो हेर्नेहरूले उनको नामाकरण गरिदिए— सिक्किमे हमजाएगा । दिलीप अर्थात् सिक्किमे हमजाएगा, श्रीमती बसुन्धरा गुरुङ, छोरा नितेश तथा छोरी निलमसँग कालिम्पोङस्थित अलगडामा बसोबास गर्छन् । मुद्रा संकलनका सौखिन गुरुङले १ सय १० देशका मुद्रा संकलन गरिसकेका छन् । हलेसी साँझमा प्रस्तुति दिन हङकङ पुगेका गुरुङसँग साप्ताहिकका हङकङ संवाददाता अनोज रोक्काको कुराकानी :
पहिलो विदेश भ्रमण कस्तो भैरहेको छ ?
खुसीको सीमा छैन । सामान्य चुट्किलाको माध्यमबाट आफ्ना यात्रुलाई खुसी बनाउने प्रयास गरेको थिए, अहिले संसारभरबाट साथ र सहयोग पाइरहेको छु ।
तपाईं दिलीप गुरुङभन्दा पनि सिक्किमे हमजाएगाको नामबाट बढी चिनिनुहुन्छ होइन ?
हो, सबैले सिक्किमे हमजाएगा भनेर बोलाउनुहुन्छ । धेरै वर्षअघिका चिरपरिचित हमजाएगा सिक्किमकै हुनुहुन्थ्यो, उहाँ पनि गुरुङ नै, चुट्किला भन्न र हँसाउन माहिर । सम्भवतः मलाई सबैले त्यस्तै रूपमा सिक्किमे हमजाएगाको उपमा दिनुभएको होला ।
प्रारम्भिक दिनमा तपाईंका चुट्किला मात्र चर्चित थिए, मानिसहरू तपाईंलाई चिन्दैनथे । कसरी प्रसिद्ध हुनुभयो ?
प्रारम्भिक दिनमा मेरा चुट्किलाको अडियो रेकर्ड गरिएको थियो, तर त्यही चुट्किलामा धेरैले लिपसिङ गर्नुभएछ । धेरैले एक जना भाइलाई नै म मान्दा रहेछन् । सबैको सल्लाहअनुरूप जब म आफैं भिडियोमा पनि देखिन थाले त्यसपछि सबैको माया पाएको छु ।
चुट्किला कसरी बनाउनुहुन्छ ?
वास्तवमा मेरो बोलीमै हास्यरस छ, मेरा साथीभाइ, मानिसहरूको दैनिकी, फेसन तथा हरेक दिन भेटिने मानिसहरू नै मेरा चुट्किलाका पात्र हुन् । उनीहरूकै कुरामा अलिकति ठट्टा मिसाउँदा सबै हाँस्नुहुन्छ, त्यसरी नै मेरा चुट्किला बन्छन् ।
तपाईंले भन्ने चुट्किलामा महिला पात्र मात्र हुन्छन् होइन ?
यो आरोप पनि मैले भोगेँ । हो, मेरा केही चुट्किला महिलाहरूप्रति लक्षित छन् तर मैले महिला मात्र होइन पुरुषलाई पनि चुट्किलाको विषय बनाएको छु ।
चुट्किलाबाहेक अरू के कुरामा प्रशंसा पाउनुभएको छ ?
ह्यान्डसम त म छु नै (हाँसो), मेरो बोल्ने शैलीलाई पनि धेरैले मन पराएको पाएको छु ।
कलाकारितामा लागेर जीवन निर्वाह गर्ने सोच छ ?
काम ठुलो–सानो हुँदैन, म चालक हुँ, ड्राइभिङबाट कमाएको पैसाले परिवार चलाउन गाह्रो छैन । कलाकारिताको माध्यमबाट प्रशंसक कमाएको छु ।
हङकङबाट सुरु भएको तपाईंको विदेशयात्रा कहाँसम्म पुग्दैछ ?
हङकङको प्रस्तुतिपछि बेलायत तथा मकाउबाट निम्तो आएको छ ।