साप्ताहिक संवाददाता
प्रमोद खरेल, गायक
पोखरामा प्रमोद खरेल’ कस्तो कार्यक्रम हो ?
यो पोखरामा पहिलो पटक आयोजना हुने मेरो सोलो कन्सर्ट हो । लाइभ ब्यान्डसहित प्रस्तुत हुने यो कार्यक्रमलाई पोखरापछि देशका अन्य सहरमा समेत सञ्चालन गरिनेछ । काठमाडौंमा भने यो कार्यक्रम प्रमोद खरेल एकल साँझका रूपमा आयोजना हुनेछ ।
कार्यक्रमको तयारी कस्तो छ ?
करिब १५ जना वाद्यवादकसहित हामी झन्डै दश दिनदेखि यही कन्सर्टका लागि अभ्यास गरिरहेका छौं । धेरै जना वाद्यवादकलाई स्टेजमा उतारिने भएकाले कार्यक्रमको तयारी पनि त्यही अनुसार गरिरहेका छौं ।
पोखरामै यो कार्यक्रम प्रस्तुत गर्ने योजना कसरी बन्यो ?
मेरो दिल छ पोखरामा...लोकप्रिय भएपछि पोखरामा एउटा वृहत कन्सर्ट गर्नुपर्छ भन्ने सोच धेरै फहिलेदेखि कै हो । अहिले आएर बार्दली क्रिएसनले यो कार्यत्रम प्रस्तुत गर्ने प्रस्ताव राखेपछि म तयार भएको हुँ ।
यो तपाईंका अन्य कार्यक्रमको तुलनामा कत्तिको पृथक् हुनेछ ?
प्रायः कन्सर्टमा हामी ट्रयाकमा गाइरहेका हुन्छौ । म यो कन्सर्टमा लाइभ ब्यान्डका साथ गाउँदैछु । त्यसैले पनि यो वास्तविक कन्सर्ट हुनेछ, जहाँ दर्शकले प्रत्यक्ष संगीतको आनन्द लिन पाउनुहुनेछ । यही कार्यक्रममार्फत बिस्तारै आयोजक तथा दर्शकमा लाइभ कन्सर्टको बानी बसाउनु पर्छ भन्ने उद्देश्य पनि लिएको छु ।
गायिका मीना निरौलाको प्रस्तुति कस्तो हुनेछ ?
कार्यक्रममा मैले एकल रुपमा झन्डै २५ वटा गीत प्रस्तुत गर्नेछु । गायिका मिना निरौलासंगको प्रस्तुति भने पृथक् रहनेछ जसमा पुराना लोकप्रिय युगल गीतहरूको एउटा बेग्लै प्रस्तुति हुनेछ, जहाँ हामी दुईले झन्डै आधा घण्टा ती गीत प्रस्तुत गर्नेछौं ।
मनोज गजुरेललाई कसरी प्रस्तुत गर्दै हुनुहुन्छ ?
सांगीतिक कार्यक्रमको बीचमा उहाँले स्ट्याण्ड अप कमेडीमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नु हुनेछ ।