साप्ताहिक संवाददाता
नयाँ वर्ष नयाँ सोच, युवाहरूका लागि छ प्रगतिको स्रोत’ भन्ने नाराका साथ नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा भक्तपुरमा पाँचौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला प्रारम्भ भएको छ । यो महोत्सव चैत २१ गते देखि वैशाख २ गतेसम्म भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा सञ्चालन भैरहेको छ । औद्योगिक शान्ति नेपाल तथा मध्यपुर ब्वाइज ब्यान्डले संयुक्त रूपमा उक्त मेला सञ्चालन गर्न लागेका हुन् । भक्तपुर आफैंमा धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल हो ।
यसैअनुरुप यो मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रूपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी मेलाका संयोजक दीपक थापाले दिए । विगतका वर्षमा भएका कमी–कमजोरी सुधार गर्दै पाँचौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलालाई ऐतिहासिक बनाउने उनले जानकारी गराए ।
मेलामा अन्तर्राष्ट्रिय स्टलसहित २ सयभन्दा बढी स्टल छन् भने चर्चित कलाकारहरूले मनोरञ्जक प्रस्तुति दिइरहेका छन् । २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने यो मेला करिब ५ लाख उपभोक्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।