साप्ताहिक संवाददाता
लामो प्रचार–प्रसारपछि गत शुक्रबार सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘शुभ लभ’ व्यवसायिक रूपमा औसत सावित भएको छ । यो चलचित्रले काठमाडौंका मल्टिप्लेक्सहरूमा खासै शो नपाए पनि सिंगल थिएटरमा भने राम्रो व्यवसाय गरेको चलचित्रका वितरकहरूको दाबी छ ।
युवा ज्योतिष हरिहर अधिकारी पहिलो पटक रजतपटमा प्रस्तुत भएको चलचित्र शुभ लभ मनोरञ्जक शैलीको छ जसमा अभिनेता हरिहर मात्र नयाँ छैनन्, अभिनेत्री कृष्टिन पौडेलदेखि निर्देशक सन्तोष बाबु लोहनी पनि चलचित्र क्षेत्रका लागि नयाँ नै हुन् । नयाँ अनुहारकै बाहुल्यता रहे पनि चलचित्रले राम्रो प्रभाव पार्न छोड्छ । यो चलचित्रमा प्रेम कथालाई मुख्य विषय बनाइएको छ । प्रदीपकुमार उदयको यो चलचित्रको कथा अभिनेता तथा ज्योतिष हरिहर अधिकारी स्वयंले लेखेका हुन् ।
ठूला स्टारका चलचित्रले समेत आशा गरे अनुरूप व्यवसाय गर्न नसकिरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव शुभ लभमा समेत परेको छ । त्यसै त मल्टिप्लेक्सहरूमा राम्रो शो नपाएको यो चलचित्रले सिंगल थिएटरको मात्र भर पर्नु पर्दा लगानी सुरक्षित गर्न नै गाह्रो परिरहेको यथार्थतालाई निर्माताहरूले लुकाएका छैनन् ।
धेरै जनाको चिना र हात हेरेर भविष्य र भाग्य बताइसकेका हरिहरले भविष्यमा चलचित्रको अभिनयलाई निरन्तरता दिन्छन् कि दिँदैनन् भन्ने कुराको निर्णय यही चलचित्रको व्यवसायमा निर्भर थियो । चलचित्रमा हरिहरले ज्योतिषकै भूमिका निर्वाह गरेका छन् । चलचित्रको आफ्नो भूमिकाका बारेमा हरिहरले भनेका छन्– ‘म ज्योतिष जस्तो कर्ममा लागेको मान्छे, मैले न अभिनयको क्लास लिएको छु ।
यसले अभिनय गर्ला र भन्ने सशंय पनि थियो । त्यसमाथि मेरो उचाइ पनि अलि कम छ । चलचित्रमा लुक्ससँगै यस्ता यावत चिजहरू पनि हेरिन्छ ।’ चलचित्र प्रदर्शनको पूर्व सन्ध्यामा अभिनेता अधिकारीले एउटा आशंका व्यक्त गरेका थिए–सुपरस्टारहरूले अभिनय गरेको भनिएका चलचित्रले समेत दर्शक पाइरहेको छैन । यस्तोमा एउटा नयाँ अभिनेताको डेब्यू चलचित्र भनेपछि म धेरै गाह्रो अवस्थामा चलचित्रमा आएको छु ।’
चलचित्र शुभ लभले हालसम्म नेपाली चलचित्रमा समावेश नगरिएको विषय उठान गरेको छ । चलचित्रको कथामा नयाँपन भएको दर्शकहरूको प्रतिक्रिया छ । समीक्षकहरूले समेत यो चलचित्रको कथा रुचाएको प्रतिक्रिया दिएका छन् भने हरिहर र कृष्टिनको अभिनयले पनि प्रशंसा पाएको छ ।