साप्ताहिक संवाददाता
धेरैवटा बाजाबाट एकैपटक म्युजिक निकाल्यो भने त्यसलाई सिम्फोनी भनिन्छ । एउटै थलोमा गुणस्तरीय बाजाबाट संगीत सुनाउने, राम्रा कलाकारहरूको जमघट गराउने र उपभोक्ताहरूलाई मीठा परिकार ख्वाउने उद्देश्यले हात्तीसार, लालुपाते मार्गमा गएको फागुनदेखि सिम्फोनी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । यो रेस्टुराँको लोकेसन खोज्न खासै गार्हो पर्दैन । सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको पार्किङकै अगाडि अवस्थित छ— सिम्फोनी लाउन्ज । सिम्फोनीमा कन्सर्टकै लागि प्रयोग हुने ठूलो स्टेज छ । उक्त हलमा २ सय जना अटाउन सक्छन् । रेस्टुराँभित्र पाँचवटा कोठा छन्, जसलाई मिटिङका लागि प्रयोग गर्न सकिन्छ ।
डेढ रोपनीमा फैलिएको यो रेस्टुराँमा भित्र र बाहिर गरेर ५ सय जना अटाउने क्षमता छ । एक दर्जन रेस्टुराँ खोलिसकेका सुमित सिग्देल सिम्फोनी लाउन्ज एन्ड बारका सञ्चालक हुन् ।
युवा व्यवसायी सिग्देलले सिम्फोनीमा ३५ जनालाई रोजगारी दिएका छन् । यो रेस्टुराँको मेनुमा झन्डै डेढ सय किसिमका इन्डियन, कन्टिनेन्टल तथा चाइनिज परिकार उपलब्ध छन् ।
पिज्जा, सिजलर, तन्दुरी, नान यहाँ सबैभन्दा बढी अर्डर हुने परिकार हुन् । रेस्टुराँले हात्तीसार आसपास होम डेलिभरिको सुविधासमेत प्रदान गर्दै आएको छ । कर्पोरेट डिनर तथा लन्चका लागि एक सयदेखी डेढ सय जनाका लागि अग्रिम बुकिङ गर्न सकिन्छ । सिम्फोनीमा हरेक बुधबार, शुक्रबार तथा शनिबार विभिन्न ब्यान्डले सांगीतिक प्रस्तुति दिन्छन् । ‘नयाँ वर्षपछि विभिन्न इभेन्ट आयोजना गर्ने योजना छ,’ सञ्चालक सुमित भन्छन् । यो रेस्टुराँ बिहान ९ बजेदेखि राति १२ बजेसम्म खुला रहन्छ ।