साप्ताहिक संवाददाता
विदेशमा आफुले ईच्छा गरेको विधामा सफलता हासिल गर्न सहज छैन । ब्यस्त समय, कामको चटारो र पैसा कमाउनै पर्ने बाध्यताकै कारण धेरैले आफ्नो प्यासनलाई तिलाञ्जली दिएका छन् । अझ गीत संगीत क्षेत्रमा विदेशमा बसेर निरन्तरता दिनु चानेचुने कुरा कहाँ हो र ?
दि गोर्खाज ब्याण्ड हङकङको पुरानो ब्याण्ड मध्ये एक हो । सन् २०१३ मै फर्म भएको ब्याण्डले नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, राजु लामा, धर्मेन्द्र सेवान, अनिल सिंह, श्रेया सोताङ लगायतलाई ब्याकअप ब्याण्डको रुपमा आफ्नो प्रस्तुती दिइसकेका छन् । दर्जन बढि आफ्ना गीतहरु छन् दि गोर्खाज ब्याण्डको । पाँच जनाको सदस्य रहेको ब्याण्डमा भोकलिस्ट भल्ला सुनार, गितारिस्ट सरोज गन्दर्भ, बेस गितारिस्ट रोशन थापा, ड्रमर प्रतिक राना, किबोर्डमा नागेन्द्र श्रेष्ठ छन् ।
ब्याण्डको सुरुवातबाटै बेस गिटारिस्टसँगै ब्याण्डलाई संरक्षण गर्दै आएका रोशन थापा भन्छन्, ‘विदेशी भुमिमा चरी मर्यो, रात रानी, वीर गोर्खाली, रेशम फिरिरि जस्ता गीतहरुको कभर गाउँदा हामीलाई दर्शकहरुको अत्याधिक साथ मिल्छ ।’ उनले विदेशमा बस्ने सवैजना आफ्नो मातृभूमिप्रति अलिक बढि संवेदनशिल भएकाले नेपाललाई प्रतिनिधित्व गर्ने गीतहरुमा दर्शक बढि झुमेको बताउँछन् ।
बिदेशमा बस्ने नयाँ पुस्तालाई नेपाली संगित प्रति लगाव वढाउनका लागी पनि आफुहरु निरन्तर लागि परेको यो व्याण्डका सदस्यहरु बताउँछन् । आफुहरुको ब्यक्तिगत जिवनसँगै संगीत क्षेत्रमा पनि हामी निरन्तर लागिरहेका छौं, थापा थप्छन्, ‘नेपाली गीत संगीतलाई मायाँ गर्नेहरु विदेशमा धेरै हुनुहुन्छ, उहाँहरुका लागी मनोरन्जन दिन र नेपाली संगीतको वजार विस्तारका लागी हामिले सक्दो गर्नेछौं ।’
न्यु ईयर धमाका
हङकङमा स्थापित यो व्याण्डले दशै, तिहार, न्यु इयर लगायतका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा नेपाली नयाँ बर्षको अवसर पारेर न्यु इयर धमाका गर्दैछ । व्याण्डले आफ्ना दर्जनभन्दा वढि गीतसँगै हङकङमा रहेका नेपालीहरुलाई मनोरन्जन दिने योजना छ । फोक रक म्युजिकलाई आफ्नो प्याट्रन बनाएको दि गोर्खाजले यसका लागी विशेष तयारी गरिरहेको छ ।