साप्ताहिक संवाददाता
खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ को शुभमुहर्त सम्पन्न भएको छ ।
पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा चलचित्रका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ र अभिनेत्री सरस्वती लामाले क्यामराको पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र्र थापाले नविरल फुटाएर शुभुमुहर्त भएको घोषणा गरेका थिए ।
शुभमुहुर्त समारोहमा चलचित्रकी अभिनेत्री सरस्वती लामा तथा गायक डेविड शंकरले चलचित्रको प्रोमोसनल गीत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।
मुहुर्त समारोहमा गीतकार राजेन्द्र थापाले चलचित्रका लागि शुभकामना दिंर्दै आफूले चलचित्रका लागि जनजिब्रोमा झुण्डिने शैलीको गीत तयार पारेको बताए ।
चलचित्रका निर्देशक राजु अर्यालले चलचित्रको विषयवस्तुका बारेमा प्रकाश पार्दै हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्न लागिएको बताए ।
चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता पिटर खालिङले यो चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान हुने धारणा व्यक्त गरे ।
चलचित्रमा पिटर खालिङ र सरस्वती लामासहित सेसुका राई, सुमन मगर, प्रिन्सा राई आदी कलाकारहरुले मुख्य भूमिका निर्वाह गर्दैछन् । यो चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देश्ँन रहने छ भने सविन भट्टराईले छायांकन गर्नेछन् । चलचित्रका अन्य गीतमा प्रताप दास तथा मेलिना राईको समेत पाश्र्व गायन रहने बताइएको छ ।
एक महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको यो चलचित्र दसैंअघि नै दर्शकमाझ आउने जानकारी गराइएको छ ।
चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।