नेपालमा चौथों हप्तामा प्रदर्शनरत अभिनेता अनमोल केसीको पछिल्लो चलचित्र क्याप्टेनले ओभरसिज प्रदर्शन बेलायतबाट सुरु गरेको छ ।
चलचित्र बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर गरिएको हो । प्रिमियरमा नेपालबाट अभिनेता अनमोल केसी र भुवन केसीको सहभागिता रहेको थियो ।
नेपालमा मिश्रित प्रतिकृया पाएको क्याप्टेनले युकेको पहिलो शोबाट भने चलचित्र उत्कृष्ट बनेको प्रतिकृया पाएको छ । चलचित्र फुटबलमा आधारित फ्यामेली ड्रामा सहित देशप्रेम समेटिएकोले पनि प्रवासी दर्शकको मन छोएको हुन सक्छ ।
कार्यक्रमको प्रमुख अतिथि डा.दुर्गाबहादुर सुवेदीले अभिनेता अनमोल केसी चलचित्र क्याप्टेनको क्याप्टेन मात्र नभएर सम्पुर्ण नेपाली चलचित्र क्षेत्रकै क्याप्टेन भएको प्रतिकृया दिए । साथै चलचित्रको कथा देशप्रति समर्पित भएकोले विश्वभरी रहेका नेपालीलाई हेर्नका लागि आव्हान गरेका छन् ।
चलचित्र प्रदर्शन अगाडी कार्यक्रम संचालिका निया देवानसंगको अन्तरकृयामा अभिनेता केसीले विगतका चलचित्रहरुमा हिरोइनको लागि फाइट गर्थें भने यस चलचित्रमा देशको लागि फाइट गरेको छु भन्दा दर्शक दिर्घाबाट तालीको गड्गडाहड बर्सेको थियो ।
चलचित्र हेर्न बरिष्ठ गायिका मिरा राणा, गायक योगेश्वर अमात्य, सितु खरेल, बिबिसि नेपाली सेवाका खगेन्द्र नेपाली, अभिनेत्री दिया पुन, अभिनेता ध्रुव दत्त, व्यवसायीहरु सुर्य गुरुङ, यादव श्रेष्ठ लगायत करीब तिन सय दर्शकहरुको सहभागिता रहेको थियो । साथै केही फ्यानहरु अनमोललाई भे्टन उपहार सहित स्कटल्याण्डदेखि आएका थिए ।
चलचित्रमा अनमोल केसीसंगै सरोज खनाल, उपासना सिंह, प्रियंका एम.भी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, राजाराम पौडेल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
चलचित्र क्याप्टेनको बेलायत प्रदर्शनको जिम्मा सपन इन्टरटेनमेन्टले लिएको छ । बेलायतका विभिन्न शहरमा चलचित्रको माग बढेको र छिट्टै नै प्रमुख शहरहरुमा प्रदर्शन गरिने सपन इन्टरटेनमेन्टका निर्देशक सपन कुमार राईले बताए ।