साप्ताहिक संवाददाता
परीक्षापछि नयाँ–नयाँ ठाउँ घुमेर पनि धेरै कुरा सिक्न सकिन्छ । सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेका वा प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्य स्थान घुमघाम गर्नु राम्रो हुन्छ । विद्यालयको पाठ्यक्रममा पढेका स्थानका बारेमा स्थलगत भ्रमण गरेर थप ज्ञान बटुल्नु उपयोगी मानिन्छ ।
काठमाडौं उपत्यका भित्र रहेका ऐतिहासिक स्थलहरू घुमेर प्रशस्त ज्ञान बटुल्न सकिन्छ । त्यसबाहेक काठमाडौंबाहिर त्यस्ता धेरै स्थान छन् जहाँ विद्यार्थीले ज्ञानगुनका कुरा सिक्न सक्छन् । यसमा छोटो पदयात्रा (हाइकिङ) पनि रमाइलो हुन्छ ।
सिरुबारी
स्याङ्जाको पञ्चमुल गाविस– ४ मा पर्ने सिरुबारी ग्रामिण पर्यटकीय स्थल हो । यो गाउँ गुरुङ जातिको संस्कृति बुझ्न उपयोगी मानिन्छ । यहाँ पाहुनालाई सत्कार गर्ने अनौठो चलन छ । गुरुङ पहिरनमा सजिएका महिला तथा पुरुषले फूलमाला लगाइदिन्छन् भने पञ्चै बाजा पनि बजाइन्छ । पाहुनालाई सुरुमा गाउँको गुम्बा पुर्याइन्छ । त्यसपछि खान, पिउन तथा नाचगानमा रमाउन पाइन्छ । यहाँ एक रात बसेको १ हजारदेखि १५ सयसम्म खर्च लाग्छ । सिरुबारी पुग्न पोखराबाट सोझै गाडी पाइन्छ । पोखराबाट सिरुबारीसम्मको ६४ किलोटिर बाटो पार गर्न गाडीमा ५ घण्टा लाग्छ ।
लुम्बिनी
भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्दा बेग्लै आनन्द आउँछ । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको लुम्बिनी र त्यहाँका बिहारहरूको अवलोकन गर्न खुबै मज्जा हुन्छ । शान्तिदीप, बुद्धको जन्मस्थान, अशोक स्तम्भ, उद्यान क्षेत्र, माया देवीको मन्दिर तथा बुद्ध विहारहरू यहाँका घुम्न लायक स्थान हुन् । गौतमी भिक्षुणी बिहारका साथै बर्मा, कम्बोडिया, भारत, थाइल्यान्ड, नेपाल, कोरिया, चिन, अस्ट्रिया, भियतनाम, क्यानाडा, फ्रान्स, जापान, जर्मनी आदि देशका बौद्ध बिहारहरू घुम्दा धेरै कुरा सिक्न पाइन्छ ।
जिरी
दोलखाको जिरीलाई स्वीजरल्यान्डको ज्युरिच सहरसँग तुलना गरिन्छ । तामाकोशी नदी, मनमोहक हरियाली र झरना तथा परम्परागत बस्तीले जिरीलाई रमणीय बनाएका छन् । जिरी सगरमाथा प्रवेशद्वारका रुपमा समेत परिचित छ । काठमाडौंबाट करिब आठ घण्टाको बस यात्रापछि जिरी पुग्न सकिन्छ । स्वीजरल्यान्ड सरकारको सहयोगमा विकसित जिरी निकै आकर्षक शहर हो । यहाँ जिरेल जातिको संस्कृति अवलोकन गर्न सकिन्छ । काठमाडौंको पुरानो बसपार्कबाट जिरी जाने बस चढ्न सकिन्छ ।
पोखरा
प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा भरपर्दो गन्तब्य हो । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको पनि सहर पोखरा घुम्नुको छुट्टै आनन्द छ । पोखराको नाइट लाइफ पनि उस्तै आकर्षक हुन्छ । लाइभ म्युजिक, डिस्को, गजल तथा दोहोरीले पनि पर्यटकहरूलाई भुलाउँछन् । पोखरामा साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइटमा रमाउन सकिन्छ । विन्ध्यबासिनी, तालबाराही गुम्बा आदि त्यहाँका धार्मिक स्थल हुन् ।
सौराहा
चितवन थारु संस्कृतीका लागि प्रख्यात छ । चितवनको सौराहा ‘वाइल्डलाइफ टुरिज्म’का लागि प्रसिद्ध छ । चितवन राष्ट्रिय निकुञ्जमा बन्यजस्तु तथा पन्छीहरू अवलोकन गर्न सकिन्छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरू हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु संस्कृतिको अवलोकन गर्नु सौराहाका आकर्षण हुन् । काठमाडौंबाट हवाइ वा बसको यात्रा गरेर सौराहा पुग्न सकिन्छ ।
जामुनखाडी
झापाको जामुनखाडी सीमसार क्षेत्र हो । जामुनखाडी सीमसार क्षेत्र पूर्व–पश्चिम राजमार्गको सुरुङ्गाबाट करिब एक किलोमिटर उत्तर हिँडेर वा गाडीमार्फत पुग्न सकिन्छ । यहाँ विश्वबाट लोप हुँदै गएको अजिङ्गर हेर्न पाइन्छ । त्यहाँ सानो चिडियाखानासमेत अवलोकन गर्न सकिन्छ । मृगस्थली, बालउद्यान, रंगीन माछाको पोखरी, झोलुङ्गे पुल आदि जामुन खाडीका आकर्षण हुन् । काठमाडौंबाट ५ सय ५० किलोमिटरको बस यात्राबाट जामुनखाडी पुगिन्छ ।
अन्तुडाँडा
सामान्य ज्ञानमा पढ्न पाइने दिपेन्द्र शिखर अर्थात अन्तुडाँडा सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात छ । करिब २३ सय २८ मिटरको उचाइमा पर्ने अन्तुडाँडा पुगेपछि चिया बगानहरू पनि घुम्न पाइन्छ । इलामको फिक्कल बजारबाट ट्याक्सी चढेर छिपिटार–सिद्धिखोला–छिरुवा हुँदै करिव चार घण्टामा अन्तुडाँडा पुगिन्छ । त्यहाँ लोपोन्मुख लाप्चा जातिको संस्कृतिसमेत अवलोकन गर्न सकिन्छ ।
सदर चिडियाखाना
लोप हुन लागेका जनावर तथा पन्छीहरूको अवलोकनका लागि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना उपयुक्त स्थान हो । शीतल र रमणीय स्थल भएकाले यहाँ घुम्न निकै रमाइलो हुन्छ । यहाँ पोखरी किनार र सँगै रहेका खेलकुद स्थानहरूमा रमाउन पाइन्छ । सदर चिडियाखाना विहान १० देखि साँझ ५ बजेसम्म खुल्ला हुन्छ ।
ह्वाइट गुम्बा
शान्त वातावरणयुक्त ह्वाइट गुम्बा निकै आकर्षक छ, जहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर ह्वाइट गुम्बा पुग्न सकिन्छ । रमणीय बगैंचा तथा हरियालीयुक्त डाँडामा रमाउन खुबै मजा हुन्छ ।
भोटेचौर
‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौं नजिकैको भोटेचौर चियाबगानका लागि प्रसिद्ध छ । चावहिलबाट ३० किलोमिटर दूरीमा अवस्थित सिन्धुपाल्चोकको भोटेचौर, साँखुबाट पाँच घण्टा हाइकिङ गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ ।