चलचित्र ‘ए मेरो हजुर–३’ फ्लोरमा जानुभन्दा अघिसम्म अभिनेत्री सुहाना थापाले अभिनेता अनमोल केसीलाई आक्कल–झुक्कल मात्र भेटेकी थिइन् । केही वर्षअघि वितरण गरिएको नेफ्टा एवार्डमा सुहाना र अनमोलको पहिलो भेट भएको थियो । त्यसयता सुहानाले अनमोलका चलचित्र न हेरेकी थिइन्, न त सोसल साइटमा उनीहरूले एक–अर्कालाई फलो नै गरेका थिए । ए मेरो हजुर–३ मा अनमोल अनुबन्ध भएपछि सुहानाले अभिनेत्रीका रूपमा पदार्पण गर्ने निश्चित भयो ।
चलचित्रमा सुहानाले गायकको भूमिका निर्वाह गर्ने अनमोलको डाइहार्ट फ्यानको भूमिका निर्वाह गर्नुपर्ने भयो । त्यसका लागि निर्देशक झरना थापाले आफ्नी छोरी सुहानालाई करिब एक महिनासम्म अनमोलले अभिनय गरेका चलचित्र, गीत, ट्रेलर, तस्बिर आदि मात्र हेर्न लगाइन् । उद्देश्य थियो, चलचित्र फ्लोरमा पुगुन्जेलसम्ममा सुहाना अनमोलको साँच्चिकै डाइहार्ट फ्यान बनुन् । सुहानाले मेहनत गरेर आफू अनमोलको फ्यान बन्न सफल भएको बताइसकेकी छिन् । यसबीच साप्ताहिकको आग्रहमा अनमोलले सुहानाका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षका बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् ।
राम्रो पक्ष
कृष्ण भक्त : म भगवान् कृष्णको भक्त हुँ । सुहाना त मभन्दा पनि बढी कृष्णभक्त हुन् । उनको यो कुरा मलाई असाध्यै मन पर्यो ।
भेजिटेरियन : मजस्तै सुहाना पनि भेजिटेरियन हुन् । मलाई भेजिटेरियन मानिसहरू मन पर्छन् ।
डेडिकेसन : सुहानाको कामप्रतिको डेडिकेसन असाध्यै लोभलाग्दो छ । उनीबाटै सिकेर मैले पनि आफुमा डेडिकेसनको भावना बढाएको छु ।
कन्फिडेन्ट : सुहाना असाध्यै आत्मविश्वासी छिन् । आत्मविश्वासी स्वभावका कारण अभिनय क्षेत्रमा उनी निकै माथिसम्म जाने सम्भावना देखेको छु ।
डाउन टु अर्थ : सेलिब्रेटी परिवारकी सदस्य भए पनि उनी आम मानिसझैं सामान्य व्यवहार गर्छिन्, सबैलाई सम्मान गर्छिन् ।
सुधार्नुपर्ने
आस्तिक : सुहाना भगवान्प्रति अति नै भक्तीभाव दर्साउँछिन् । कामको बीचमा पनि उनी भगवान् कृष्णलाई सम्झेर बसिरहेको पाइन्छ ।
अभिनय : अभिनयमा भर्खरै आएकाले उनले अझै धेरै कुरा सिक्न बाँकी छ, आशा छ उनी समयसँगै परिपक्व हुनेछिन् ।
मिडिया फ्रेन्ड्ली : कलाकार भएपछि मिडियासँग फ्रेन्ड्ली हुनुपर्छ । यो पक्षमा पनि उनले सुधार ल्याउनेछिन् भन्ने कुरामा म आशावादी छु ।
डाइटिङ : अलि बढी डाइटिङ गर्छिन् । खाएकै मानिस काम लाग्छ भन्ने कुरा उनले बुझ्नुपर्छ ।