साप्ताहिक संवाददाता
केही समय अघिसम्म पनि अजितकुमार यादव नेपाली खेलकुदमा अपरिचित थिए । त्यति मात्र कहाँ हो र, उनलाई खेलाडीका रूपमा उनी पढ्ने पिनाकल कलेजमै पनि धेरै कमले चिन्थे, तर एकपटक उनले हङकङमा भएको तेस्रो एसियन युथ च्याम्पियनसिपमा स्वर्ण पदक के जिते, यादव एकाएक ठूला स्टार भएका छन् ।
उनको यो सफलतासँगै सुविधा पनि पछि–पछि लागेको छ । यादवले लगभग १० लाख रुपैयाँ बराबरको सम्मान पाउने भएका छन् । त्यस क्रममा उनले १ सय २५ सीसीको मोटरसाइकल प्राप्त गरेका छन् । अबको एक वर्ष उनले मासिक ६० हजार रुपैयाँ पाउने छन् । यस्तै केही व्यापारिक संस्थाले उनलाई अलग्गै १२ हजार रुपैयाँ दिनेछन् ।
त्यति मात्र होइन, उनले एक वर्षको जिम र पौडीको निःशुल्क सुविधा पनि लिन सक्नेछन् । त्यस्तै यादवलाई पिनाकल कलेजले एक वर्षको होस्टल सुविधा समेत दिनेछ । स्वभाविक रूपमा अजित निकै खुसी छन् । उनकै भाषामा– अब बुवाले उनको डाइटका लागि अलग्गै खर्च छुट्याउनुपर्ने छैन ।