साप्ताहिक संवाददाता
चैत्र २६, २०७५
हरेक शुक्रबार प्रदर्शनमा आउने नेपाली चलचित्रले लामो समयदेखि आशातीत व्यवसाय गर्न सकेका छैनन् । ठूलो लगानी गरिएका चलचित्रले समेत लगानी सुरक्षित गर्न नसकिरहेको अवस्था एकातिर छ भने अर्कातिर चलचित्रका कलाकारहरूले भने दिन–प्रतिदिन आफ्नो पारिश्रमिक बढाइरहेका छन् । यस क्रममा अभिनेता पुष्प खड्काले आफू एउटा नयाँ चलचित्रमा ३० लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्ध भएको बताएका छन् ।
सञ्चार माध्यममा आएका कुरालाई हल्ला भनिएपछि पुष्पले नेपाल तथा दार्जिलिङमा छायांकन हुने एक चलचित्रबाट आफूले प्राप्त गर्ने पारिश्रमिकका बारेमा मुख खोलेका हुन् । यो समाचारसँगै अनमोल केसी र प्रदीप खड्कापछि पुष्प सर्वाधिक पारिश्रमिक लिने तेस्रो अभिनेता भएका छन् ।