साप्ताहिक संवाददाता
केशर खुलाल, प्रिन्सिपल
बूढानीलकण्ठ स्कुल
ए लेभल यही स्तरका अन्य शिक्षाभन्दा कसरी फरक छ ?
विषयवस्तुका आधारमा भन्ने हो भने खासै फरक छैन । थोरै मात्र फरक छ । ए लेभलको असिसमेन्ट (परीक्षा प्रणाली) फरक छ । पढाउने तौरतरिका फरक हुने नै भयो । सबै कुरा असिसमेन्टमा भर पर्छ । ए लेभल पढेका विद्यार्थीहरू अलि खारिएका, माझिएका र सिर्जनशील हुन्छन् ।
ए लेभलका खास फाइदा तथा बेफाइदा के–के छन् ?
बेफाइदा भनेको महँगो छ । परीक्षा शुल्क पाउन्डमा तिर्नुपर्छ । त्यो पैसा बेलायत जान्छ । न्यूनतम शुल्क राख्दा पनि ठूलो रकम बाहिरिन्छ । फाइदाको कुरा भनेको यसको सर्टिफिकेट संसारभर बिक्छ । ६/६ महिनामा जाँच हुन्छ । पहिलो र दोस्रो वर्षको जाँच एकैपटक समेत दिन सकिन्छ । यो–यो वर्षको परीक्षा अहिले दिन्छु, यो–यो विषयको परीक्षा मात्र दिन्छु भन्ने सुविधा पनि छ । उत्तीर्ण हुनेलाई ग्रेडमा सर्टिफिकेट दिन्छ । अनुत्तीर्ण हुनेले सर्टिफिकेट पाउँदैनन् । वैज्ञानिक पद्धतिका आधारमा परीक्षा लिइन्छ ।
ए लेभल १६–१८ वर्षकाले मात्र पढ्न पाउँछन् भन्ने छ, यसमा उमेरको हदबन्दी हुन्छ ?
त्यो भ्रम हो, क्याम्ब्रिजले कुनै हदबन्दी लगाउँदैन । जो इच्छुक छ उसले परीक्षा दिन पाउँछ । प्रायः १६–१८ वर्षकाले परीक्षा दिएको पाइन्छ । यद्यपि ३० वर्ष पुगेकाले पनि परीक्षा दिन पाइन्छ ।
नेपालमा यसको प्रवेश र हालको स्थिति कस्तो छ ?
सन् १९८७ मा पहिलो ब्याचले परीक्षा दिएको हो । बीचमा बुम भयो, धेरैले यसलाई कमाइ खाने भाँडो माने। अहिले राम्रै छ । प्लस टुले यससँग प्रतिस्पर्धा गरिरहेको छ ।
शुल्क कति तिर्नुपर्छ ?
संस्था हेरेर फरक–फरक शुल्क छ । जाँच फी झन्डै एकदेखि सवा लाख तिर्नुपर्छ । बुढानिलकण्ठ स्कुलमा खान–बस्नसहित ७ लाख रुपैयाँ लाग्छ ।
ए लेभल पढेकाहरूका लागि कस्ता–कस्ता अवसर छन् ?
प्लस टु जस्तै हो ।
ए लेभल व्यवहारिक र प्रयोगात्मक शिक्षा हो । खासमा यसमा व्यवहारिक ज्ञान कसरी दिइन्छ ?
पाठ्यक्रम बनाउँदा पनि व्यवहारिक बनाइएको छ । मूल्यांकन विधि पनि फरक नै हुन्छ । यसमा समसामयिक विषयवस्तु समेटिएको हुन्छ । रेडियो, टिभी, पत्रपत्रिका हेर्नु तथा सुन्नुपर्ने हुन्छ । बेलायतको भए पनि बेलायतकै मात्र कुरा हुँदैन । संसारभरको विषयवस्तु समेटिएको छ ।