साप्ताहिक संवाददाता
चैत्र २७, २०७५
नेपाली चलचित्रको बजार विदेशसम्म फैलिएपछि विदेशमा बसोबास गर्ने नेपाली भाषीहरूसमेत यो क्षेत्रमा आकर्षित हुन थालेका छन् । केही अघि नेपाली मुलकी भारतीय मोडल रेवती क्षेत्रीले चलचित्र समर लभमा अभिनय गरेकी थिइन् ।
यसबीच कोलकातामा बसोबास गर्ने नेपाली मुलकी श्रद्धा क्षेत्री पनि रजतपटमा भित्रिएकी छिन् । अघिल्लो साता फ्लोरमा गएको चलचित्र हृदयभरिमार्फत श्रद्धाले नेपाली चलचित्रमा पदार्पण गरेकी हुन् ।
सुरज सुब्बा नाल्बोद्वारा निर्देशित उक्त चलचित्रमा श्रद्धाले मिस नेपालको भूमिका निर्वाह गर्ने बताइएको छ । श्रद्धा भारतमा मोडलका रूपमा स्थापित छिन् । कोलकातामै बसेर उनले मोडलिङलाई निरन्तरता दिइरहेकी छिन् । हृदयभरिमा श्रद्धाले अभिनेता पल शाहसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।