साप्ताहिक संवाददाता
कुनै समय, नेपालमा सबैभन्दा बढी खेलिने खेल थियो– बास्केटबल । कम्तीमा काठमाडौंका स्कुल तथा कलेजमा लगातार बास्केटबलका प्रतियोगिता हुन्थे । नेपाली बास्केटबल इतिहासका लागि त्यो स्वर्णिम समय थियो । पछि त्यसमा ‘ब्रेक’ लाग्यो र प्रतियोगिताहरू हुन छाडे । अहिले नेपाली बास्केटबल ‘कमब्याक’ गर्ने प्रयासमा छ ।
त्यसकै प्रयासस्वरूप ५५ दिन चल्ने बास्केटबल लिग प्रतियोगिता हुने भएको छ, जुन होम एन्ड अवेका आधारमा सञ्चालन हुनेछ । कुल ८ टिम सहभागी हुने यो बास्केटबल प्रतियोगिता नेपाली बास्केटबलको इतिहासमै सबैभन्दा लामो समय चल्ने प्रतियोगिता हुनेछ ।
यो त भयो, पुरुषतर्फको प्रतियोगिता, आयोजक पीडीसीएनले महिला लिग पनि सञ्चालनमा ल्याउने जनाएको छ । यसलाई लिएर नेपाली महिला राष्ट्रिय टिमकी कप्तान सदिना श्रेष्ठ निक्कै खुसी छिन् । बास्केटबल सुन्दरी सदिनाकै भाषामा प्रतियोगिता हुने घोषणाले नै महिला खेलाडीमा उत्साहको सञ्चार भएको छ ।