साप्ताहिक संवाददाता
आफूलाई फेसनेवल अभिनेताका रूपमा स्थापित गराएका सलिनमान बनियाँ पृथक हेयरस्टाइलका कारण युवापुस्तामाझ लोकप्रिय छन् । उनको हेयरस्टाइल सामान्य मानिसहरूको तुलनामा पृथक् त छ नै, नेपाली चलचित्र उद्योगमै उनको जस्तो हेयरस्टाइल अरु कसैको छैन । यसैकारण पनि उनी भीडमा अरूभन्दा अलग देखिन्छन् ।
पृथक् हेयरस्टाइलसहित स्टाइलिस पहिरनले बनियाँको व्यक्तित्व नै आकर्षक देखिन्छ । यद्यपि, सलिनमानको हेयरस्टाइलमाथि ठट्टा गर्नेहरू पनि प्रशस्तै छन् । कतिपयले हेयर स्टाइलकै कारण उनलाई ‘दुम्सी’ समेत भनेका छन् । सलिनमानले पनि उक्त टिप्पणी सुनेका छन् ।
यद्यपि उनी उक्त टिप्पणीप्रति दुःखी छैनन् । ‘म त उल्टो खुसी पो छु,’ सलिनमान भन्छन्— ‘मलाई आफैंलाई मन पर्ने जनावरको नाम लिएर बोलाइँदा निराश हुनु पर्ने कुनै कारण छैन ।’ सलिनमानका अनुसार दुम्सी उनलाई मनपर्ने जनावर हो ।