साप्ताहिक संवाददाता
द भ्वाइस अफ नेपाल सिजन–२ मा आफ्नो प्रतिभा प्रस्तुत गर्न झन्डै २२ हजार प्रतिभाले डिजिटल अडिसनमार्फत् सहभागिता जनाएका छन् । चैत १० गतेसम्म तोकिएको समय सीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाले विभिन्न डिजिटल माध्यममार्फत आवेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।
‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल एवं म्यासेजिङ एपमार्फत पनि आवेदन मागेका थियौं’ पौडेलले भने, ‘सबै माध्यम खुला गरिएका कारण यो वर्ष उत्साहजनक सहभागिता देखिएको छ ।’
एप डाउनलोड गरेर सहभागिता जनाउन कठिनाइ महसुस गर्ने प्रतिभाहरूले फेसबुक म्यासेन्जर, भाइबर, ह्वाटसएपमार्फत पनि हजारौंको संख्यामा आवेदन दिएका छन् । चैत १० मै म्याद सकिए पनि त्यसपछि पनि सयौं आवेदन आएको निर्देशक पौडेलले बताए ।
अब प्राप्त भिडियो क्लिपबाट छानिएका प्रतिभाले कोचसामु ब्लाइन्ड अडिसन दिनेछन् । कोचहरूको कुर्सी घुमेसँगै प्रतिभाहरूको भाग्य पनि बदलिनेछ । यो प्रतिस्पर्धाको प्रसारण यही असारदेखि हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने बताइएको छ ।