साप्ताहिक संवाददाता
अभिनेत्रीबाट निर्देशकका रूपमा बढुवा भैसकेकी झरना थापा यतिबेला आफ्नो दोस्रो चलचित्र ‘ए मेरो हजुर–३’ का कारण चर्चामा छिन् । चलचित्रका प्रायः सबै प्रचार सामग्रीले राम्रो प्रतिक्रिया पाएपछि उनको उत्साह समेत बढेको छ । चैत २९ गते आज प्रदर्शनमा आएको उक्त चलचित्रमार्फत झरनाले आफ्नै छोरी सुहानालाई अभिनेत्रीका रूपमा पदार्पण गराउँदै छिन् ।
अघिल्लो साता आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरेकी झरनाले सार्वजनिक समारोहमै छोरीको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिन् । ‘मैले आफ्नी छोरीको प्रशंसा गरेकी होइन, झरनाले भनिन्– ‘तपाईंहरूले पनि चलचित्र हेरेपछि अनुभव गर्नु हुनेछ, सुहानाले वास्तवमै उत्कृष्ट अभिनय गरेकी छिन् ।’
चलचित्र हेरेपछि सुहानाको अभिनय र सौन्दर्यको हरेकले प्रसंसा गर्ने झरनाको दाबी छ । झरनाले आत्मविश्वासका साथ भनिन्— ‘जसरी म विगतमा तपाईंहरूको मनमा बस्न सफल भएकी थिएँ, सुहानाले पनि ठीक त्यसरी नै तपाईंहरूको मनमा बास पाउने कुरामा ढुक्क छु ।’