साप्ताहिक संवाददाता
वर्ष २०७५ अन्त्यको सँघारमा छ र नेपाली खेलकुदको नजरले यसलाई फर्केर हेर्दा केही आशलाग्दा क्षण पनि छन् भने केही उत्तिकै निराशाजनक क्षण पनि देखा पर्छन् । घोषणा भए अनुसार सबै कुरा कार्यान्वयनमा आएको थियो भने वर्ष २०७५ मा नेपाली खेलकुदमा दुई ठूला प्रतियोगिता सम्पन्न भैसक्नुपर्ने थियो, पहिलो राष्ट्रिय खेलकुद, अर्को त्यो भन्दा ठूलो दक्षिण एसियाली खेलकुद । बल्लतल्ल राष्ट्रिय खेलकुद नेपालगञ्जमा वर्षको अन्त्यमा सुरु हुने भएको छ ।
दक्षिण एसियाली खेलकुदका लागि नयाँ मिति तय भैसके पनि यो पनि समयै हुने हो–होइन, केही भन्न सकिँदैन । यस्तोमा नेपाली खेलकुदमा एउटा भयावह रोग देखियो, जुन धेरै अघिदेखि कायम छ, तर निको हुने छाँट छैन र त्यो हो, ठूलो दाबीसहित प्रतियोगिता आयोजना गर्ने निर्णय गर्ने, तर त्यसलाई कार्यान्वयन गर्नतर्फ भने कुनै ध्यान नदिने । नेपालगञ्जमा समयमै राष्ट्रिय खेलकुद हुन नसक्नुको प्रमुख कारण भौतिक पूर्वाधार समयमै तयार नहुनु रह्यो ।
दक्षिण एसियाली खेलकुदका सम्बन्धमा ठोस दाबी गर्न नसकिनुको कारण पनि त्यही हो, भौतिक पूर्वाधार । वर्ष २०७५ ले पनि दशरथ रंगशाला निर्माण सम्पन्न भएको देख्न पाएन् । भूकम्पले क्षति पुर्याएपछि दशरथ रंगशाला आजै बन्ने भोलि नै बन्ने दाबी धेरै गरिए, तर अहिले पनि त्यसको पुनर्निर्माणको गति सुस्त छ र यसले नेपाली खेलकुदमा अपुरणीय हानि पुर्याइरहेको छ । नेपाली खेलकुदसँग वर्ष २०७५ मा भौतिक पूर्वाधारमा बलियो हुने अवसर थियो, त्यो खेर गयो ।
वर्ष २०७५ को चर्चा गर्दा अगाडि आउने सबैभन्दा ठूलो महोत्सव भने एसियाली खेलकुद हो, जसको आयोजना इन्डोनेसियाले गरेको थियो । नेपालले पनि त्यसमा सहभागिता जनायो र प्रतियोगिताको अन्त्यमा देखियो, नेपाली खेलकुद कति धेरै पछाडि छ, एसियाली स्तरमा । प्रतियोगिता सुरु हुनुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले दाबी गरेका थिए, यसपटक नेपालको
प्रदर्शन अहिलेसम्मकै सबैभन्दा राम्रो हुनेछ ।
यद्यपि त्यस्तो केही भएन, यसपटकको एसियाली खेलकुद पनि धेरै हदसम्म निराशाजनक नै रह्यो । सहभागी नेपाली टोली निकै ठूलो थियो, भाग लिएका खेलको संख्या पनि उत्तिकै थिए, तर उपलब्धि लगभग शून्यकै स्थितिमा रह्यो । नेपाल तेक्वान्दो र कराँते जस्ता खेलमा निकै कमजोर सावित भयो । अरू धेरै खेलमा नेपालको सहभागिता औपचारिकतामा सीमित रह्यो । यी सबै पृष्ठभूमिमा वर्ष २०७५ नेपाली खेलकुदका लागि ठूलो शिक्षा हुन सक्छ ।
एसियाली खेलकुदमा नेपालका लागि एउटै मात्र सुखद पक्ष भनेको प्याराग्लाइडिङमा नेपालले हात पारेको रजत पदक रह्यो । नेपालले एसियाली खेलकुदमा अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि भनेकै रजक पदक थियो । नेपालले यसपटक पनि त्यसकै बराबरी गर्न सक्यो । त्यो भन्दा पनि ठूलो कुरा नेपालले उक्त पदकका लागि संघर्ष र मेहनत गरेको थियो । यस अर्थमा यो रजत पदकलाई ऐतिहासिक भन्न मिल्ने ठाउँ धेरै छ ।
विमल अधिकारीको नेतृत्वमा नेपालका लागि विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ तथा विजय गौतमले टिम इभेन्टको क्रस कन्ट्रीमा रजत पदक जितेका हुन् । नेपाली टिम स्वर्ण पदकको धेरै नजिक पुगेर पनि त्यसलाई आत्मसात् गर्नबाट भने वञ्चित भयो । वर्ष २०७५ नेपाली खेलकुदमा एसियाली रजत पदक जितेको वर्षका रूपमा सम्झिइनेछ । यद्यपि नेपालले पदक जितेको यो खेल न त मूल धारको खेल हो, न त यो खेलमा नेपालले सरकारीस्तरबाट लगानी नै गरेको थियो ।
नेपाली खेलकुद फुटबल र क्रिकेटमै बढी केन्द्रित हुन्छ । वर्ष २०७५ पनि त्यसको अपवाद भएन । फुटबलतर्फ यो वर्ष नेपालमा सहिद स्मारक लिग फर्किएको वर्ष रह्यो । लामो समयदेखि नेपालमा लिग हुन सकिरहेको थिएन, लिग त फर्कियो, तर त्यसमा रेलिगेसनको व्यवस्था भने थिएन् । यसले लिगलाई कमजोर नै बनायो र पूरा प्रतियोगिता दोषयुक्त देखियो । लिगको उपाधि भने मनाङ मर्स्याङ्दीको नाममा रह्यो ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाल फेरि एकपटक बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा सहभागी बन्यो र फेरि एकपटक सेमिफाइनलमै रोकियो । सम्भवतः यसपटक नेपालसामु साफ च्याम्पियनसिपकै इतिहासमा पहिलो पटक फाइनल प्रवेशको सबैभन्दा ठूलो अवसर थियो, तर नेपालले त्यसको फाइदा लिन सकेन । नेपाल अन्तिम चारमा माल्दिभ्ससँग पराजित भयो । महिलातर्फ पनि नेपालले साफ च्याम्पियन्ससिप खेल्यो । उक्त प्रतियोगिताको आयोजना नेपालले नै गरेको थियो ।
विराटनगरमा भएको प्रतियोगितामा नेपालसामु आफ्नै भूमिमा पहिलो पटक उपाधि जित्ने अवसर थियो, तर यसपटक पनि नेपालले भारतको चुनौती पार गर्न सकेन । नेपाली महिला फुटबलका लागि वर्ष २०७५ सम्झनालायक रहनेछ, किनभने नेपालले केही उत्साहजनक सफलता पनि हात पारेको छ । नेपालले पहिलो पटक भारतलाई हरायो, त्यो पनि उसकै भूमिमा तर त्यस्तै उपलब्धि नेपालले विराटनगरमा दोहोर्याउन सकेन ।
नेपाली क्रिकेट पनि यो वर्ष निकै सक्रिय रह्यो । नेपालले वान डे टिमको मान्यता पाएयता वर्ष २०७५ मा दुई सिरिज खेल्यो, पहिलो नेदरल्यान्ड्विरुद्ध, दोस्रो युएईविरुद्ध । वर्ष २०७५ नेपाली खेलकुदमा क्रिकेटतर्फ नेपालको उदय भएको वर्षका रूपमा पनि सम्झिइनेछ । दुवै सिरिजका क्रममा नेपालले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा केही गर्न सक्ने टिमका रूपमा देखायो । घरेलु क्रिकेट पनि केही हदसम्म व्यस्त नै रह्यो, ईपीएल, पीपीएल तथा डीपीएलका कारण ।
घरेलु क्रिकेटको स्थिति भने अस्तव्यस्त नै रह्यो, किनभने वर्ष २०७५ मा पनि नेपाल क्रिकेट संघको अस्तित्व देख्न पाइएन । नेपाल क्रिकेट संघ प्रतिबन्धको स्थितिबाट गुज्रिरहेको धेरै वर्ष भैसकेको छ, तर यसको समाधान भने अहिलेसम्म निस्किएको छैन । क्रिकेटको सर्वोच्च संस्थाको अभावमा यो खेलले कुनै गति लिन सकेन् । नेपाली क्रिकेटको स्थिति कमजोर रहनु वर्ष २०७५ को अर्को दुर्भाग्य हो ।