ज्योतिषमा दुईवटा आधार छन् चन्द्रमास र सौर्य मास । चन्द्रमासअनुसार चैत्रशुक्ल प्रतिपदा चैत २३ गते शनिबारदेखि नयाँ वर्ष लाग्यो, उक्त दिन श्री शालिवाहनीय शाके सम्वत् र सम्वत्सर परिवर्तन हुन्छ । सनातन धार्मिक कार्यमा संकल्प गर्दा नयाँ शाके सम्वत् र नयाँ सम्वत्सरको नाम लिनुपर्छ । यो साल शाके सम्वत् १९४१ र परिधावि नामक सम्वत्सर चल्नेछ ।
अर्को चाहिँ सूर्य ग्रह अश्विनी नक्षत्रमा प्रवेश गरेपछि (जसलाई हामी वैशाख संक्रान्ति) भन्छौं र यी दुईको आधारबाट वार्षिक भविष्यवाणी गरिन्छ । चैत्र शुक्ल प्रतिपदाको दिन जुन बार थियो, त्यो बारको स्वामी देशको शासक हुन्छ । चैत्र शुक्ल प्रतिपदाको दिन चैत २३ गते शनिबार थियो, त्यसले गर्दा यो वर्षको राजा शनि हो । त्यसैले यो वर्षको राजा अर्थात् शासक शनि हो । त्यसपछि अर्को नियम हुन्छ, सूर्य ग्रह मेष राशिमा जुन अश्विनी नक्षत्रअनुसार हुन्छ, त्यो सूर्य ग्रह अश्विनी नक्षत्रमा प्रवेश गरेको दिन कुन बार छ, त्यो बारको स्वामी त्यो वर्षको मन्त्री हुन्छ । मन्त्री अर्थात् शासकको सहयोगी एवं सल्लाहकार । सरकार चलाउने यी दुईले हो । यसपालिका मन्त्री सूर्य हुन् ।
राजा शनि भयो भने के फल हुन्छ, त्यसको नियम छ । यो नियमअनुसार राजा शनि भएको वर्ष राजनीतिज्ञहरूमा झगडा, जनतामा रोग, प्राकृतिक विपत्ति एवं तस्करहरूको बिगबिगी हुन्छ । यद्यपि यो स्थुल नियम हो, सूक्ष्म नियम होइन् । त्यसपछि हाम्रो यो वर्ष परिधावि नामक सम्वत्सर चल्छ । यो परिधावि नाम गरेको सम्वत्सरको फल पनि खासै राम्रो छैन । यसले कलह, अशान्ति र रोगव्याधिमा वृद्धि गर्नेछ ।
स्थुल नियममा चैत्रशुल्क प्रतिपदाको दिन घाम उदाउँदा जुन तिथि भेट्यो त्यो तिथिको बारबाट राजा बन्यो तर सूक्ष्म नियममा चाहिँ ठ्याक्क औंसी सकिने बित्तिकै प्रतिपदामा सुरु हुन्छ । चैत २२ गते शुक्रबारको दिन २ बजे २६ मिनेट १० सेकेन्डमा काठमाडौंको आकाशबाट प्रतिपदा सुरु भयो । त्यति बेलाको कुण्डली बनाउँदा सिंह लग्न हुन आउँछ । सिंह वर्ष लग्न बन्दा त्यसको फल के हुन्छ ? कुन–कुन क्षेत्रमा के–कस्तो प्रभाव पर्छ ?
सिंह लग्न वर्ष लग्न हुँदा देशको पूर्वी भागमा केही अप्ठ्यारो सिर्जना हुनसक्छ । उत्तरी भागमा अतिवृष्टि हुन्छ, भू–स्खलन हुने तथा हिमनदीहरू उर्लिने सम्भावना वुद्धि हुन्छ । देशको दक्षिण दिशामा ६ महिनासम्म धनधान्यको कमी हुन सक्छ । पश्चिम दिशामा धातु महँगो हुने देखिन्छ । देशको मध्यभागमा राजयुद्ध हुन्छ भनिएको छ, राजयुद्ध भनेको एक प्रदेश र अर्को प्रदेशबीच द्वन्द्व बढ्छ भनिएको हो ।
योभन्दा पनि सूक्ष्म नियम छ । वैशाख १ गते दिउँसो १ बजेर ५२ मिनेट १५ सेकेन्डमा सूर्य अश्विनी नक्षत्रमा प्रवेश गर्छ, यो एकदमै महत्वपूर्ण हुन्छ । ज्योतिषीको भाषामा यसलाई जगलग्न भनिन्छ । यो लग्नबाट कुन राशिकालाई के कस्तो छ त्यो पनि बताउन सकिन्छ । यसबाट देशको समग्र पक्षको पनि अध्ययन गर्न सकिन्छ । यो एकदमै सूक्ष्म नियम हो, यो नियमअनुसार देश, काल र परिस्थिति हेर्न सकिन्छ । राजनीति, धनधान्य, सेयरबजार आदि कुराहरू यसैबाट हेरिन्छ । यो वर्ष वर्षादिपति मंगल ग्रह आएको छ । मंगल ग्रहलाई ज्योतिषमा झै–झगडा, लडाइँ तथा कलहसँग जोडिन्छ, यो ग्रह युद्धको कारक हुन्छ । मंगल नै वर्षादिपति आएकाले मानिसहरूमा कडापन, युद्ध, हत्या बढ्ने देखिन्छ । अर्कातिर मंगलले साहसिक कुरालाई पनि समेट्छ, त्यसैले प्रहरी, सेना तथा खेलकुद क्षेक्रका व्यत्तिहरूका लागि समय सहयोगी हुनेछ । मंगलको प्रभाव भुइँचालो, पहिरो आदिको सम्भावना बढी हुन्छ ।
जगलग्न कुण्डलीको पहिलो घरबाट देशको स्वाथ्य, प्रजा, राजनेता, राष्ट्रको उन्नति र सामान्य अवस्था कस्तो रहन्छ भन्ने हेरिन्छ । पहिलो घरमा यसपालि मंगल ग्रह र शुक्र ग्रहको बल परेकाले राष्ट्रको उन्नति हुने देखिन्छ भने देशको नेतृत्वले पनि सफलता प्राप्त गर्नेछ ।
दोस्रो घरबाट आर्थिक क्रियाकलापहरू हेरिन्छ । त्यसमा बुध ग्रहको पूर्ण दृष्टि परेको छ, बुध ग्रहको दृष्टिका कारण यो वर्ष देशको राजस्व वृद्धि हुने देखिन्छ भने सरकारी असुली पनि बढ्नेछ । राष्ट्र अलि धनी हुन्छ । बाह्यभन्दा आन्तरिक व्यापार बढ्नेछ । विदेशी सहायता बढे पनि त्यो अनुदानभन्दा ऋणका रूपमा बढी आउनेछ । मजदुर वर्गका लागि पनि वर्ष राम्रो छ ।
तृतीय घरबाट हामी यातायात र सञ्चारलाई हेर्छौं । यसमा सूर्यको पूर्ण दृष्टि परेको छ । यो वर्ष यातायातको क्षेत्रको पनि सकारात्मक परिवर्तन हुने देखिन्छ । सञ्चारको क्षेत्रमा राज्यले नयाँ निर्णय लिनेछ । लेखकवर्गका लागि वर्ष सकारात्मक छ ।
चतुर्थ स्थानबाट विशेष गरी बालीनालीको स्थिति हेरिन्छ । त्यसमा मंगलको दृष्टि परेको छ, त्यसैले यसपालि खेतीपातीमा अलि गाह्रै हुन्छ । अन्न उब्जनी कम हुनेछ । रियल स्टेट पनि त्यति बुम हुँदैन । पञ्चम स्थानमा केतु तथा बृहस्पति शनि बसेको छ, यसबाट फिल्म, थिएटर, शिक्षा, मिडियाजस्ता विभाग हेरिन्छ । त्यसमा वर्ष प्रारम्भ हुँदा बृहस्पति पनि अत्याचारी भएको छ, शनि र केतुको युतीमा बृहस्पति कमजोर छ । त्यसकारण चलचित्रबाट त्यति ठूलो लाभ हुँदैन । यो वर्ष शिक्षा क्षेत्र विवाद र बदनामीमा फस्न सक्छ । अर्को, संवेदनशील कुरा बालमृत्युदर पनि केही वृद्धि हुन सक्छ । मानिसहरू दिल बहलाउन जुवातास एवं क्लब–डिस्कोतिर अलि बढी लाग्न सक्छन् ।
छैटौं स्थानले रोगब्याधीसम्बन्धी स्थिति बताउँछ जहाँ चन्द्रमाको दृष्टि परेको छ र त्यसलाई अरू कुनै अशुभ ग्रहले देखेको छैन् । यो वर्ष नयाँ–नयाँ रोग देखिने सम्भावना छैन् । सप्तम स्थानले परराष्ट्र सम्बन्धलाई हेर्छ, त्यसमा शुक्र बसेको छ । ०७६ मा नेपालको परराष्ट्र सम्बन्ध एकदमै राम्रो रहनेछ । नयाँ देशहरूसँग हाम्रो दौत्य सम्बन्ध पनि विकसित हुनेछ । अलिकति संवेदनशील कुरा सप्तम स्थानको स्वामी केतुसँग गएर बसिदिएको छ, त्यो हुनाले युद्धको सम्भावना पनि रहन्छ । अष्टम स्थानमा बुध बसेकाले अकाल मृत्यु तथा आत्महत्यामा वृद्धि होला । विस्फोटक पदार्थको प्रयोग यो वर्ष अलि बढी हुन्छ कि भन्ने छ । प्रहरी कारबाही पनि अलि बढी नै हुनेछ । यसपटक मेडिकल साइन्सले डिटेक्ट गर्न नसक्ने केही रोग देखा पर्न सक्छन् । यद्यपि उत्पात र महामारी भने आउँदैन ।
नवम स्थान अदालत र धर्मसम्बन्धी स्थान हो । यो वर्ष एकदमै संवेदनशील छ । अदालत विवादमा आउन सक्छ । धर्मका मानिसहरू एकदमै क्रियाशील हुनेछन् । विशेष गरी धर्मका उपासक एवं धर्मगुरुहरूको सक्रियता वृद्धि हुनेछ । यसमा अर्को सकारात्मक कुरा के छ भने सूर्य उँचो भएर बसेको छ र त्यसमा बृहस्पति तथा केतुको दृष्टि परेको छ । हवाई क्षेत्रमा विदेशी लगानी बढ्नेछ । नयाँ हवाई कम्पनी पनि आउनेछन् । पर्यटकको आगमन वृद्धि हुनेछ । केही मन्त्री हेरफेर हुने
सम्भावना पनि छ । व्यापारका सिलसिलामा केही सन्धि–सम्झौता हुने देखिन्छ ।
दशम स्थान एकदमै महत्वपूर्ण छ किनभने यो स्थान राजा वा शासकको हो । यसमा मंगल बसेको छ । त्यसैले शासकहरू एकदमै क्रुर भएर आउनेछन्, निरंकुश देखिनेछन् । सरकार आफ्नो कुरामा एग्रेसिभ भएर लाग्नेछ भने उसका निर्णयहरू लागू पनि हुनेछन् । एकादश स्थान संसदको हो, संसदमा राहु बसेको छ । यसले संसदमा जुन कानुन
बन्छन्, त्यसमा अलिकति फेरबदल हुने, कानुनमा बढी विवाद आउने हुनसक्छ ।
द्वावदस स्थानसँग अलिकति गलत कुरा जोडिन्छ, सरकारको विरुद्ध काम गर्नेहरू, राज्यका विरुद्धका गुप्त शक्रुहरू, विदेशी जासुसहरू ०७६ मा अलि बढी सत्रिय हुनेछन् । त्यहाँ चन्द्रमा छ, त्यो पूर्ण बलको छ । राजस्व छलि पनि एकदमै बढ्ने देखिन्छ । सरकार विरुद्ध काम गर्नेहरू सक्रिय होलान् । रोचक कुरा सरकारको घरमा मंगल छ, त्यसैले सरकारले विरोधीहरूलाई निरंकुश तरिकाले पेल्ने सम्भावना छ ।
ग्रहणको असर
ग्रहण कुन समयमा हुन्छ, त्यो समयले पनि केही प्रभाव छाड्छ । यो वर्ष हामीकहाँ दुईवटा ग्रहण लाग्नेछन् । ग्रहणको फल अर्थराजनीतिमा पनि पर्छ, मानिसमा पनि पर्छ । असार ३१ गते मंगलबार पूर्णिमाको दिन चन्द्रग्रहण खण्डग्रास छ जुन राति १ बजेर ४६ मिनेटमा सुरु हुनेछ, ग्रहण सुरु हुँदा हाम्रो जगत् लगनमा कहाँ पर्यो त्यो अलि संवेदनशील कुरा हुन्छ । चन्द्रग्रहण जगत लगनको दसौं घरमा लाग्छ, त्यो राज्य घर हो । असारको जुन चन्द्रग्रहण छ, त्यो सिधैं राज्यप्रमुखकै घरमा लागेको छ । राज्यप्रमुखलाई असारदेखि असोजसम्म खतरा छ । ग्रहणको अष्टम स्थानमा चन्द्रमा र केतु छन्, त्यसैले ग्रहण आसपास अप्रिय घटना घट्ने र कोलाहाल मच्चिने सम्भावना पनि देखिन्छ ।
पुसको १० गते सूर्य ग्रहण लाग्छ । यो बिहान ८ बजेर २४ मिनेटमा सुरु हुनेछ । सूर्य ग्रहण मकर लगनमा पर्छ । यो राम्रो छ, यसले हाम्रा ऋण तथा कुभलो चिताउनेहरूलाई समाप्त पार्नेछ । नेपालका लागि पुसको सूर्यग्रहण सकारात्मक छ । हामी यस्तो समयमा नयाँ वर्षमा प्रवेश गर्दैछौं जहाँ आकाशमा सबै ग्रहलाई राहु र केतुले घेरेका छन्, जुन वैशाखको १० गतेसम्म चल्नेछ । त्यसैले वर्षको प्रारम्भिक अवस्था राम्रो छैन । अहिले आकाशमा बृहस्पति, शनि र केतु ग्रहको युती छ, यो लगभग डेढ–दुई सय वर्षमा हुने युती हो । त्यसैले यो वर्ष विश्व राजनीतिका लागि नै उथलपुथलकारी छ ।