साप्ताहिक संवाददाता
नयाँ वर्षमा मैले संगीत भरेका धेरै गीत बजारमा आउने तयारीमा छन् । विशेषगरी गायक शिव परियारसँग मिलेर नयाँ गीत क्षतिपूर्ति सार्वजनिक गर्ने तयारीमा छु । हामीले यो गीतमा निकै मेहनत गरेका छौं । नयाँ वर्षकै दिन गीत रिलिज हुँदैछ । त्यसैले यो गीत लोकप्रिय हुनेमा आशावादी छु ।
बादल घिमिरे, संगीतकार
हावाहुरी, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप कम हुन् अनि नेपाली चलचित्रको व्यवसायिक स्थिति मजबुत होस् भन्ने कामना गर्छु ।
सञ्चिता लुइँटेल, अभिनेत्री
यो वर्ष नेपाली चलचित्रको व्यवसायिक पक्ष राम्रो रहेन । त्यसैले आउने वर्ष प्रदर्शनमा आएका चलचिक्रले आत्रमक व्यापार गर्छन् भन्ने आशा गरेको छु ।
मुस्कान ढकाल, निर्देशक
आउने वर्ष मेरो फिल्मी करियर अझ बलियो भएर माथि चढोस् । मैले काम गरेको चलचित्र ब्लकबस्टर बनोस् । नेपालमा रोजगारीका अवसर बढून् ताकि स्वेच्छाले विदेशको बाटो तताउनु परोस्, बाध्यताले होइन ।
पुष्प खड्का, अभिनेता
सर्वत्र शुभ भयो भने म आफैं पनि लाभान्वित हुनेछु । तैपनि भन्नैपर्दा एउटा चलचित्र बनाउँदैछु । यो चलचित्र यादगार होस्, त्यही नै हो ।
दीपकराज गिरी, अभिनेता
देशको समृद्धिका साथै नेपाली चलचित्र क्षेत्रको पनि विकास होला भन्ने आशा राखेकी छु ।
दीपाश्री निरौला, अभिनेत्री
आउने वर्ष देशले विकास र समृद्धिको बाटो पछ्याउला भन्ने आशा गरेको छु । सांगीतिक क्षेत्रमा पनि राम्रा प्रतिभाको प्रवेश भैरहेको छ । त्यसैले फरक–फरक शैलीका गीत–संगीतले नेपाली सांगीतिक क्षेत्र थप सशक्त हुनेछ भन्ने विश्वास लिएको छु ।
वसन्त सापकोटा, संगीतकार
म आशा राखेर निराश हुन चाहन्नँ । त्यसैले मेरो यो वर्ष जसरी बित्यो आउने वर्ष पनि यसै गरी बिताउन पाइयोस् भन्ने चाहना छ ।
भोजराज काफ्ले, गायक
म अहिले चलचित्र क्षेत्रमा छु । त्यसैले यसको प्रगतीको आशा राख्छु । अहिले मूलुकमा प्रदेश सरकारहरू गठन भएका छन् । प्रदेश सरकारले प्रभावशाली ढंगले काम गरून्, देशमा उद्योगधन्दा कलकारखानाको विस्तार भएर विदेशी भूमिमा श्रम गरिरहेका नेपाली दाजुभाइ तथा बिदेसिन बाध्य युवावर्गलाई नेपालमै रोजगारीको अवसर प्राप्त होस् भन्ने अपेक्षा गरेको छु ।
आकाश अधिकारी, निर्माता
देश विकासको गतिमा अघि बढेको हेर्न मन छ ।
महेन्द्र गौतम, मोडल
करियरको हिसाबले कुरा गर्ने हो भने, आउने वर्ष सांगीतिक क्षेत्रमा केही नयाँ काम गर्दैछु । यो कामबाट राम्रो प्रतिफलको आशा गरेकी छु । बितेको वर्ष मेरा लागि मध्यम नै रह्यो । मैले यसपालि गरेका कतिपय काममा राम्रो प्रतिफलको आशा राखेकी थिएँ, तर कुनै–कुनै कामबाट अपेक्षा गरेजस्तो प्रतिफल प्राप्त गर्न सकिएन । त्यसैले पनि आउने वर्ष गरेको कामबाट राम्रो प्रतिफलको आशा राखेकी छु । यसबाहेक देश विकासको गतीमा अघि बढेको देख्न पाइयोस् ।
प्राश्ना शाक्य, गायिका
२०७६ सालमा हावाहुरी, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको सामना गर्नु नपरोस् भन्ने कामना गर्छु । देशका राजनीतिक दलहरूभित्रै पनि अनेकौं समस्या छन् ती सबै मिलेर जालान् अनि राम्रा नेपाली चलचित्र बन्लान् र चलचित्र क्षेत्रको व्यवसाय पनि राम्रो होला भन्ने आशा राखेको छु ।
विल्सम विक्रम राई, अभिनेता
यो वर्ष रोकिएका कामहरू आउने वर्ष पूरा हुन्, साथै यसपालि नेपाली चलचित्रले सोचेजस्तो व्यापार गर्न सकेन आउने वर्ष नेपाली चलचित्रले राम्रो व्यापार गर्छ भन्ने आशा राखेकी छु ।
जेविका कार्की, अभिनेत्री
समग्र सांगीतिक क्षेत्रको सफलताको कामना गर्दै चलचित्रको पार्श्व गायनमा अझ बढी सक्रिय हुन सकियोस् ।
प्रहलाद तिमिल्सिना, गायक
राजनीतिक अस्थिरता हटेर देशका सबै क्षेत्रमा लगानी गर्न सक्ने वातावरण बनोस् । कला, साहित्य, संगीतमा राम्रा सिर्जनाहरू आऊन् ।
भूपेन्द्र खड्का, गीतकार
आउने वर्ष म्युजिकल करियरमा अझ प्रगति हुने तथा पार्श्व गायनमा जम्ने आशा गरेको छु ।
विश्व नेपाली, गायक
आउने वर्ष म अभिनेत्री तथा निर्देशकका रूपमा पनि आउँदैछु । मैले निर्माण गरिरहेको चलचित्र द डार्क एन्ड लाइट हेरेपछि नेपालमा पनि हलिउडस्तरको चलचित्र बन्छ भन्ने सन्देश जाने शुभ आशा गरेकी छु ।
सरस्वती लामा, गायिका/अभिनेत्री
सर्वप्रथम त अघिल्ला वर्षका अधुरा काम पूरा हुने आशा गरेकी छु । नयाँ वर्षसँगै नयाँ कामको थालनी गर्न पाइयोस् । वर्षका सबै दिन शुभ रहून् ।
सुप्रिया कटवाल, अभिनेत्री
आशा गरेको छैन, बरु नेपाली नेताहरूसँग हामी जहाँ गए पनि म नेपाली हुँ भन्ने कुरा इज्जतका साथ भन्न पाइयोस् भन्ने कामना गरेकी छु ।
विपना थापा, अभिनेत्री
हरेक नयाँ वर्षमा शुभकामना आदान प्रदान गर्ने चलन पुरानै हो । खासगरी हामीजस्ता सर्वसाधारणले व्यक्त गर्ने भनेको व्यक्तिगत शुभकामना नै हो । आफन्त, नातागोता तथा मित्रहरूको आगामी वर्ष शुभ रहोस् । हरेक नयाँ वर्षको अवसर पारेर मानिसहरू नयाँ प्रण गर्छन् । म चाहिँ आफ्नो सांगीतीक क्षेत्रको शुभ होस् भन्ने कामना गर्छु ।
कला डी पंगेन, गायिका
समग्र नेपालीको भलो त्यति बेला हुन्छ, जब देश शान्ति र समृद्धिको बाटोमा अघि बढ्छ । त्यसैले सबै राजनैतिक दलले स्वर्थभन्दा माथि उठेर देशका लागि काम गरेको हेर्न चाहन्छु भने कलाकर्मीको नाताले सर्जकको रोयल्टि व्यवस्थापन सही रूपमा होस् र समग्र नेपाली चलचित्र क्षेत्रको उत्थान होस् भन्ने चाहन्छु ।
अर्जुन पोखरेल, संगीतकार
जब व्यापारमा इगोले स्थान बनाउँछ, तब चलचित्र प्रदर्शन हुँदैनन्, भिँड्छन् । किन र कसको फाइदा अथवा इसारामा ? आउने वर्ष त्यस्तो नहोस् । वर्ष २०७६ नेपाली चलचित्रका लागि एकदमै राम्रो वर्ष सावित होस् ।
दिनेश सिटौला, सञ्चारकर्मी
मनको चाहनाले साकार रूप लिने आशा छ ।
सुविन लिम्बू, पूर्व मिस नेपाल
नयाँ वर्षले सम्पूर्ण नेपालीको जीवनमा उज्यालो ल्याओस् । देशको विकासका साथै शिक्षा र रोजगारीको ग्यारेन्टी होस् ।
नीलडेविड कटवाल, हेयर एक्सपर्ट
नेपालले प्रविधिमा फड्को मारेको हेर्न मन छ । यसका साथै हाम्रो देशमा पनि क्यासलेस विद्युतीय कारोबार स्थापित हुने अपेक्षा गरेको छु ।
अलाइभ ग्लाइडर, व्यवसायी
आउने वर्ष नेपाली सांगीतिक क्षेत्रले उत्कृष्ट संगीत, शब्द तथा स्वर भएका गीतहरू पाओस्, जसले नेपाली संगीतप्रति गर्व गर्न सकियोस् ।
राजु सिंह, संगीतकार
नेताहरूमा कम बोल्ने बढी काम गर्ने, जनतामा सकारात्मक सोंच्ने र विकासका काममा सहभागी बन्ने, कलाकारमा भाइरल बन्ने भन्दा पनि लोकप्रिय बन्ने सद्बुद्धि प्राप्त होस् ।
दीपक आचार्य, हास्यकलाकार
सांगीतिक क्षेत्रले गर्व गर्ने खालका गीत–संगीत सिर्जना गरेर नेपाली संगीतलाई अझ उचाइमा पुर्याउन सकियोस् ।
राजनराज शिवाकोटी, गायक/संगीतकार