अंग्रेजी नयाँ वर्ष तामझामका साथ मनाइने पोखरामा नेपाली नयाँ वर्ष आउँथ्यो, जान्थ्यो । यसलाई त्यति महत्व दिइँदैनथ्यो । यसले पोखराका पर्यटन व्यवसायीहरूलाई चिन्ता हुन थाल्यो । आफ्नो संस्कृति संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई प्राथमिकता दिनुपर्छ अनि मात्र विदेशी पर्यटकले नेपालको कला संस्कृतिका बारेमा थाहा पाउनेछन् । यस्तै सोचका साथ पोखरामा नेपाली नयाँ वर्ष मनाउने क्रमको सुरुवात भयो ।
यसको श्रेय पश्चिमाञ्चल होटल संघलाई जान्छ । संघले १५ वर्षअघि फेवा नववर्ष महोत्सवको आयोजना गरेर पोखरामा नेपाली नयाँ वर्ष मनाउने क्रमको थालनी गर्यो जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ । यसले विस्तारै आन्तरिक पर्यटकको मन जित्दै गयो । फलस्वरूप पोखरा अहिले नेपाली नयाँ वर्ष मनाउनेहरूको हब बन्न थालेको छ ।
नयाँ वर्षको अवसरमा पोखरा घुम्न आउने पर्यटकलाई सन्तुष्ट तुल्याउन यहाँका व्यवसायीको मेहनत उस्तै हुन्छ । पोखरा अनि आसपासमा रहेका साधारण गेस्ट हाउसदेखि तारे होटलसम्मले नेपाली नयाँ वर्षलाई विशेष बनाउन प्याकेज उपलब्ध गराउँछन् ।
नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटक कास्की तथा छिमेकी जिल्लाका होम स्टेमा पुगेर ग्रामीण बस्ती हेर्दै रमाउँछन् । नयाँ वर्षको उपलक्ष्यमा पोखरा आउनेहरू धम्पुस, घान्द्रुक, पञ्चासे, ल्वाङघलेल, सिक्लेस, मुस्ताङ–मुक्तिनाथ, सिरुवारी, घोरेपानी, पुनहिल, अन्नपुर्ण बेसक्याम्प आदिसम्म पुग्छन् ।
साहसिक खेल प्याराग्लाइडिङ, बञ्जिजम्प, क्यानोनिङका अतिरिक्त ट्रेकिङ जानेहरू पनि प्रशस्तै हुन्छन् । यो लालीगुराँस फुल्ने समय भएकाले लालीगुराँस फुल्ने रुटमा ट्रेकिङ जानेहरूको संख्या बढी हुन्छ ।
यसका अतिरिक्त विभिन्न कार्यक्रमको माध्यमबाट समेत नयाँ वर्षको स्वागतमा रमाउने वातावरण मिलाइन्छ । नेपाली नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होटल संघको आयोजनामा सोह्रौ फेवा नववर्ष महोत्सव आज चैत २९ गतेदेखि वैशाख १ गतेसम्म कोमागाने पार्क लेकसाइडमा सञ्चालनमा आउँदैछ ।
महोत्सवको आर्कषणमा सांस्कृतिक प्रस्तुति, लोकदोहोरी, पप कर्न्सट, हास्य प्रहसन, बालउद्यान आदि रहनेछन् । यहाँ नेपाली खानेकुरालाई प्राथमिकता दिइएका स्टलसमेत हुनेछन् । ‘नेपाली परिकार प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप चलनचल्तीका नेपाली परिकारका स्टल त्यहाँ हुनेछन्, पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । यो महोत्सव संस्कृति, खाना एवं संगीतमा केन्द्रित रहेनछ ।
अहिले पोखरा पुग्ने पर्यटकमा ६० प्रतिशत आन्तरिक पर्यटक हुने गरेका छन् । त्यसैले नेपाली नयाँ वर्षलाई लक्षित गरेर डान्स, फmेसन शो तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुने त्रम बर्सेनि बढ्दै गएको छ ।
नयाँ वर्ष मनाउन पोखरा आउने आन्तरिक पर्यटकका लागि पश्चिमाञ्चल होटल संघ पोखराले चार प्रकारका प्याकेज ल्याएको संघका अध्यक्ष विकल तुलाचनले बताए । जसमा घुमघाम, शैक्षिक भ्रमण तथा ‘हनिमुन’ का दुई गरी चारवटा प्याकेज छन् । वैशाखको पहिलो सातासम्म संघसँग आबद्ध होटलमा उक्त प्याकेजको सुविधा प्राप्त गर्न सकिनेछ ।
यसअन्तर्गत शैक्षिक भ्रमण प्याकेजका लागि प्रतिव्यक्ति १ हजार ७ सय ७० रुपैयाँ लाग्नेछ । यो ब्रेकफास्टसहित दुई रातको प्याकेज हो । विद्यार्थीलाई मात्र उपलब्ध गराइने यो प्याकेजअन्तर्गत आधा दिन दृश्यावलोकन र एक घण्टा डुंगा सयर गर्न पाइन्छ । यो सुविधा लिन कम्तीमा ४० जना विद्यार्थीको समूह हुनुपर्नेछ ।
घुमघाम प्याकेजमा बस्ने पाहुनाले विमानस्थल अथवा बसपार्कदेखि होटलसम्म आउजाउको सुविधा, वेलकम ड्रिंक्स तथा दुई जनाका लागि डबल बेडसहितको कोठा पाउनेछन् । साथमा ब्रेकफास्ट, आधा दिन पोखरा आसपास दृश्यावलोकन तथा फेवातालमा एकघन्टा डुंगा सयर गर्न पाइनेछ । ‘घुमघाम’ प्याकेजका लागि प्रतिव्यक्ति २ हजार ९ सय ९० रुपैयाँ लाग्नेछ ।
हनिमुन मनाउन आउने जोडीका लागि संघले दुईवटा प्याकेज ल्याएको छ । दुवै प्याकेजमा विमानस्थल अथवा बसपार्कबाट होटलसम्म ल्याउने र पुर्याउने सुविधा उपलब्ध हुनेछ । दुई रात बसाइसहित ब्रेकफास्ट, डिनर, आधा दिनको दृश्यावलोकन तथा एक घण्टा डुंगा सयर गर्न पाइन्छ । यो प्याकेजका लागि प्रतिव्यक्ति कम्तीमा ३ हजार ५ सय ५० रुपैयाँ खर्च गर्नुपर्नेछ ।
अल्ट्रालाइट वा प्याराग्लाइडिङ वा बञ्जिजम्प गर्न पाइने सुविधा थप हुने अर्को हनिमुन प्याकेजका लागि प्रतिव्यक्ति कम्तीमा ९ हजार ९ सय ९० रुपैयाँ खर्च गर्नुपर्छ ।