साप्ताहिक संवाददाता
वैशाख १, २०७६
फालेलुङ गाउँपालिकाले पाँचथरको फालेलुङमा चौंरी महोत्सवको आयोजना गर्ने भएको छ । दुई वर्ष अघिदेखि निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको उक्त महोत्सव यसपटक गाउँपालिकाले गर्न लागेको हो ।
विगतमा जस्तै चौंरी संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि यो महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सव साबिक फालेलुङ–६, चाररातेमा हुनेछ ।
२०७६ वैशाख १ गते सञ्चालनमा आउने महोत्सवमा चौंरी तथा चौंरीजन्य वस्तुका साथै विभिन्न जडीबुटी प्रमुख आकर्षणमा रहनेछन् । याक राइडिङसमेत गरिने यो महोत्सवमा भारत, भुटान, चीन तथा बंगालादेशका पर्यटकहरूको समेत सहभागिता रहँदै आएको छ ।