साप्ताहिक संवाददाता
साहित्यकार गंगा सुवेदीको कथा संग्रह ‘नियालेर आकाश’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रममाझ उक्त कृति सार्वजनिक भएको हो ।
नारी, सामाजिक विकृती तथा समस्यालगायतका विषयवस्तुमाथि यथार्थवादी शैलीमा लेखिएका २५ वटा कथाहरु समेटिएको उक्त पुस्तकलाई प्राज्ञ तथा स्रष्टा माया ठकुरी, साहित्यकार लक्ष्मणप्रसाद गौतम, समीक्षक उमाप्रसाद कोइराला, साहित्यकार ज्ञानु अधिकारी र लेखिका सुवेदीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
प्राज्ञ तथा स्रष्टा ठकुरीले कथाकार सुवेदीले आफ्ना कथामा यथार्थ र जीवन्त परिवेश ल्याउन सफल भएको बताइन् । कृतिमाथि समीक्षक टिप्पणी राख्दैं समीक्षक तथा स्रष्टा ज्ञानु अधिकारीले आफूले नदेखेका कतिपय यथार्थतामा पनि कथामा आएको बताउँदै उनले कथामार्फत समाजमा विद्यमान विभेदमाथि शालिन विरोध र असन्तुष्टी रहेको बताइन् ।
अर्का समीक्षक उमाप्रसाद कोइरालाले पूर्वबाट स्थापित स्रष्टा सुवेदी बहुमुखी प्रतिभाकी धनी भएको बताए । साहित्यकार, सञ्चारकर्मी, समाजसेवी, उद्यमी र चित्रकार समेत रहेकी सुवेदी गौरव गर्न लायक प्रतिभा भएको बताउँदैं सुवेदीका कथामा कारुणिकता कथाको शक्ति भएको बताए ।
कथाकार सुवेदीले आफूले हरेक कथा अन्तरमनले आत्मस्पर्श गरेपछि लेखेको बताइन् । कार्यक्रमका अध्यक्ष लक्ष्मण गौतमले सकारात्मक सोचलाई गंगाले कथामा उतार्ने गरेको बताए । उनले धेरै ब्यक्तित्वलाई सँगै लिएर जानु पनि कृत्तिकारको विशेषता रहेको बताए । सुवेदीको यो पाँचौ कथाकृति डिकुरा पब्लिकेसन्सले बजारमा ल्याएको हो ।