साप्ताहिक संवाददाता
संसारका कुन देश कुन क्षेत्रमा कस्तो अवस्थामा छन् भन्ने विषयमा संसारभर छरिएका विभिन्न विषयगत एजेन्सीहरूले समय–समयमा प्रतिवेदन जारी गरेर सम्बन्धित मुलुकलाई सचेत गराउँदै आएका छन् । यस्तो प्रतिवेदनले सम्बन्धित मुलुकलाई आफू कमजोर रहेको क्षेत्रमा सुधार गर्न आवश्यक नीति तयार पार्न सघाउ पुर्याउँदै आएको छ । वर्ष २०७५ मा विभिन्न एजेन्सीले आ–आफ्ना विषयमा जारी गरेका प्रतिवेदनमा नेफाल कहाँ छ त ?
मानव विकास सूचकांक
संयुक्त राष्ट्रसंघीय विकास कार्यत्रम (यूएनडीपी) ले हरेक वर्ष जारी गर्दै आएको मानव विकास सूचकांकसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार नेपाल अघिल्लो वर्षको तुलनामा पाँच स्थान खस्कँदै १ सय ४९ औं स्थानमा पुगेको छ । यूएनडीपीले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा १ सय ८९ देशलाई समेटिएको थियो । प्रतिवेदनअनुसार दक्षिण एसियाली देशहरूमा भारत १ सय ३० औं, भुटान १ सय ३४ औं, बंगलादेश १ सय ३६ औं तथा पाकिस्तान १ सय ५० औं स्थानमा छन् । प्रतिवेदनमा श्रीलंका ७६ औं तथा माल्दिभ्स १ सय १ औं स्थानमा छन् ।
कति खुसी छन् नेपाली
जीवनयापनका क्रममा नागरिकको अनुहारमा झल्कने खुसीको मापनमा नेपालीहरू दक्षिण एसियाली देशहरूमध्ये तेस्रो स्थानमा छ । संयुक्त राष्ट्रसंघीय वर्ल्ड ह्यापिनेसले विश्वका १ सय ९२ देशमा गरेको सर्वेक्षणअनुसार नेपाल उक्त सूचीको १ सयौं नम्बरमा छ । यो सूचीमा दक्षिण एसियाली मुलुकहरूमध्ये पाकिस्तान ७५ औं स्थानमा रहेर सबैभन्दा अगाडि छ भने भुटान ९७ औं स्थानमा रहेर नेपालभन्दा अघि छ । उक्त सूचीमा बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन् । प्रतिवेदनको पहिलो स्थानमा उत्तर युरोपेली मुलुक फिनल्यान्ड छ । यो प्रतिवेदन विशेष गरी नागरिकको आम्दानी, स्वतन्त्रता, विश्वास, स्वास्थ्य सेवामा पहुँच, जीवनयापनका साधनहरूको सहज उपलब्धता, सामाजिक सद्भाव एवं उदारताका आधारमा तयार गरिन्छ ।
विश्व आर्थिक प्रतिवेदन
विश्व बैंकले वर्ष २०१८ का लागि विश्वका विभिन्न मुलुकमा उपलब्ध आर्थिक स्वतन्त्रता, आर्थिक अवसर, नागरिकहरूको आम्दानी एवं बचत, उद्योग–व्यवसाय प्रारम्भ गर्न बेहोर्नुपर्ने प्रशासनिक झमेला तथा वित्तीय क्षेत्रबाट प्राप्त हुने आर्थिक सहयोग, मानव संसाधन, ऊर्जाको उपलब्धता तथा कच्चापदार्थको सहजता जस्ता विषयलाई समेटेर जारी गरेको आर्थिक प्रतिवेदनमा नेपाल १ सय ३३ औं स्थानमा छ । यसका लागि नेपालले ५४ दशमलव १ अंकको रेटिङ प्वाइन्ट प्राप्त गरेको थियो । प्रतिवेदनमा उल्लेख गरिएको मापनसम्बन्धी नियमअनुसार यस्तो रेटिङ जति कम हुन्छ सम्बन्धित मुलुकको आर्थिक अवस्थालाई त्यति नै सहज मानिन्छ । १ सय ८० देश समेटिएको यो प्रतिवेदनको पहिलो स्थानमा हङकङ छ ।
स्वास्थ्य सूचकांकमा नेपाल
विश्व स्वास्थ्य संगठनले सन् २०१८ का लागि जारी गरेको वार्षिक प्रतिवेदनअनुसार नेपालीहरूको औसत आयु पुरुषको हकमा ६९ वर्ष तथा महिलाको हकमा ७२ पुगेको छ । यसैगरी ५ वर्षमुनिका शिशुको मृत्युदर प्रति १० हजार जन्ममध्ये ३४ मा झरेको छ भने १५ देखि ६० वर्षका नागरिकको मृत्युदर पनि कम हुँदै गएको छ । प्रतिवेदनअनुसार नेपालमा हरेक वर्ष प्रति १० हजारमा १ सय ७१ महिला तथा १ सय ३१ पुरुषको मृत्यु हुने गरेको छ । स्वास्थ्य क्षेत्रमा नेपालीहरूको प्रतिव्यक्ति खर्चमा सुधार देखाउने उक्त प्रतिवेदन भन्छ– प्रत्येक नेपालीले हरेक वर्ष आफ्नो स्वास्थ्यका लागि १ सय ३७ डलर खर्च गर्दै आएका छन् । यो उनीहरूको कुल आयको ५ दशमलव ८ प्रतिशत हो ।
भ्रष्टाचार बढ्दैछ
यो वर्ष नेपाल बढी भ्रष्टाचार हुने देशहरूको सूचीमा पुनः खराब स्थितिमा छ । भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल १ सय २२ औं स्थानमा छ । दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो । उक्त सूचीमा भुटान २६ औं स्थानमा छ । त्यस्तै भारत ८१ औं, श्रीलंका ९१ औं, मालदिभ्स १ सय १२ औं, पाकिस्तान १ सय १७ औं तथा बंगलादेश १ सय ४३ औं स्थानमा छन् । अघिल्लो वर्ष यो सूचीमा नेपाल १ सय ३१ औं स्थानमा थियो । विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा न्युजिल्यान्ड, डेनमार्क र स्वीजरल्यान्ड क्रमशः पहिलो, दोस्रो तथा तेस्रो स्थानमा छन् ।
घुम्नै पर्ने सहर काठमाडौं
पर्यटनसम्बन्धी समाचार लेख्ने अनलाइन पोर्टल लब्ली प्लानेटले विश्वका घुम्नै पर्ने सहरको सूचीमा नेपालको राजधानी काठमाडौंलाई पाँचौं स्थानमा राखेको छ । चार वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पुर्याए पनि पुनर्निर्माणको काम भैरहेको भन्दै लब्ली प्लानेटले काठमाडौंलाई एकपटक घुम्नैपर्ने सहरका रूपमा उल्लेख गरेको हो । लब्ली प्लानेटको उक्त सूचीको पहिलो स्थानमा डेनमार्कको राजधानी कोपनहेगन छ भने नेपालभन्दा अघि चीनको सान्जेन, सर्बियाको नोभी साद तथा अमेरिकाको मियामी छन् ।
नेपाल कति महिलामैत्री
व्यवसायिक महिला र कानुनी प्रावधान जस्ता विषयलाई आधार बनाएर विश्व बैंकले जारी गरेको एक प्रतिवेदनमा नेपाल दक्षिण एसियामा पाँचौं नम्बरमा छ । उक्त प्रतिवेदनको पहिलो नम्बरमा माल्दिभ्स छ । त्यसैगरी दोस्रोमा भारत, तेस्रोमा भुटान, चौथोमा श्रीलंका छन् । नेपालपछि बंगलादेश, पाकिस्तान हुँदै अन्त्यमा अफगानस्तिान छ । ती दुवै विषयको मूल्यांकनमा नेपालले ५३ दशमलव १३ अंक पाएको थियो ।
कति प्रजातान्त्रिक ?
प्रजातन्त्र संस्थागत भएका देशको सूचीमा नेपाल ९७ औं स्थानमा परेको प्रतिवेदन सार्वजनिक भएको छ । द इकोनोमिस्टले प्रकाशित गरेको उक्त प्रतिवेदनमा १ सय ६७ देश समेटिएका थिए । प्रतिवेदनअनुसार पहिलो स्थानमा नर्वे, दोस्रोमा आइसल्यान्ड, तेस्रो स्वीडेन छन् ।
आर्थिक वृद्धिदर ७ प्रतिशत
विश्व बैंकले सन् २०१९ को आर्थिक वृद्धिदर ७ प्रतिशतले हासिल हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण दक्षिण एसियाका देशहरूको तेस्रो स्थान हो । छिमेकी देश भारत र बंगलादेशले क्रमश ७ दशमलव ५ तथा ७ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि गर्ने उल्लेख गरेका छन् । पछिल्लो समय पर्यटक आगमन बढेको तथा ठूला सिमेन्ट उद्योगहरूले उत्पादन थालेको हुँदा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको हो ।