साप्ताहिक संवाददाता
प्याराग्लाइडिङ टिम
कप्तान विमल अधिकारीसँगै विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ तथा विजय गौतम मूल धारको नेपाली खेलकुदका लागि नयाँ नाम हुन्, तर यिनै खेलाडीको समूहले नेपाललाई एसियाली खेलकुदको टिम इभेन्टको क्रस कन्ट्रीमा रजत पदक दिलाए । नेपाली टिमले कुल ११ हजार ३ सय ६४ अंक ल्याएको थियो र यो स्वर्ण विजेता जापानी टिमको भन्दा २७ अंकले मात्र कम हो । यी खेलाडी फुटबल र क्रिकेटका जस्ता ठूला स्टार हुने छैनन्, तर उनीहरूको उपलब्धिलाई सधैं सम्झिइनेछ ।
सन्दीप लामिछाने, क्रिकेट
वर्ष २०७५ मा नेपाली खेलकुदमा सबैभन्दा चर्चामा रहने खेलाडी हुन्— सन्दीप लामिछाने । मेहनत गरे, नेपाल बाहिर गएर पनि व्यवसायिक रूपमा अब्बल दर्जाको खेल प्रदर्शन गर्न सकिने उदाहरण बने, उनी । अहिले सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि खेलिरहेका छन् । उनले अस्ट्रेलियाको बिग बासदेखि लिएर अरू लगभग सबै ट्वान्टी–२० लिग खेले र कम समयमै करोडौं कमाउने खेलाडी बने ।
पारस खड्का, क्रिकेट
पारस खड्काले वर्ष २०७५ मा आफूलाई नेपाली क्रिकेटका लागि निर्विवाद नेतृत्वकारीका रूपमा कायम राखे । उनकै नेतृत्वमा नेपालले पहिलो पटक औपचारिक रूपमा मान्यता प्राप्त वान डे क्रिकेट खेल्यो । यही कारणले पनि उनलाई पछिसम्म सम्झिइनेछ । यूएईविरुद्धको वान डे तथा ट्वान्टी–२० सिरिज जित्नमा पनि उनले ठूलै भूमिका खेले, ब्याट र बल दुवैबाट । त्यति मात्र होइन, पारस नेपालका लागि वान डे क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी पनि बने ।
रोहित चन्द, फुटबल
रोहित चन्द फुटबल खेलेर सर्वाधिक कमाउने नेपाली खेलाडी हुन् । उनले पनि यसका लागि विदेशी भूमिनै रोजेका छन् । इन्डोनेसियामा उनी सबैभन्दा ठूला विदेशी स्टार खेलाडी मानिन्छन् । हालै मात्र उनले पर्सिजा जाकार्तासँग नयाँ अनुबन्ध गरेका छन् र त्यस अनुसार उनको एक महिनाको तलब १० लाख रुपैयाँको हाराहारीमा छ । रोहित नेपाली राष्ट्रिय टिमका पनि नियमित सदस्य हुन् र उनलाई भविष्यको कप्तानका रूपमा समेत हेरिएको छ ।
किरण चेम्जोङ, फुटबल
नेपाली फुटबलमा सबैभन्दा बढी कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन्— किरण चेम्जोङ । उनले पनि विदेशमै खेलेर उक्त उपलब्धि हात पारेका हुन् । यी गोलरक्षक माल्दिभ्सको टीसी स्पोर्टका लागि खेल्छन् । त्यसक्रममा उनले आफ्नो क्लबका लागि उत्कृष्ट खेल प्रदर्शन गरेर धेरैको मन जितेका छन् । किरण लामो समयदेखि नेपाली टिमका नम्बर १ गोलरक्षक हुन् र उनकै प्रदर्शनका कारण नेपालले हालैको मैत्रीपूर्ण खेलमा कुवेतविरुद्ध राम्रो भन्न मिल्ने नतिजा निकालेको थियो ।
सावित्रा भण्डारी, फुटबल
अहिलेको नेपाली महिला फुटबलकी सबैभन्दा ठूलो नाम हुन्— सावित्रा भण्डारी । बलियो शरीरकी धनी सावित्रा दक्षिण एसियाली क्षेत्रकै अब्बल दर्जाकी फरवार्ड हुन् र धेरै हदसम्म उनकै प्रदर्शनमा नेपालको अग्रपंक्ति टिकेको छ । भण्डारीको प्रदर्शनकै मदतले नेपाल वुमेन्स साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्न सफल भयो । उनी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहिन् । सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने बाटोमा छिन् ।
हरि खड्का, फुटबल
खेल्ने समयमा नेपालका सर्वाधिक चर्चित खेलाडीमा पर्थे— हरि खड्का । तिनै हरि अचेल प्रशिक्षक भएका छन् र उनको नेतृत्वमा नेपाली महिला टिमले वर्ष २०७५ मा अपेक्षा भन्दा धेरै राम्रो गर्न सक्यो । नेपालले ओलम्पिक छनोटको दोस्रो चरणसम्मको यात्रा त तय गर्यो नै, त्यसमाथि नेपाल वुमेन्स साफ च्याम्पियनसिपको फाइनलमा पनि पुग्यो । हरिको आगमनपछि नेपाली महिला टिममा उत्साह थपिएको छ र यसले महिला फुटबललाई चर्चामा समेत ल्याएको छ ।
अजितकुमार यादव, एथलेटिक्स
वर्षको अन्त्यतिर एकाएक चर्चामा आएका खेलाडी हुन्— अजितकुमार यादव । उनको उपलब्धि पनि यस्तै रह्यो । यादवले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक जितेर तहल्का मच्चाए र त्यो ऐतिहासिक उपलब्धि थियो । यादवले ३ हजार मिटर दौड ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पूरा गरे । उनको यो उपलब्धि विषम परिस्थितिमा प्राप्त भएको थियो । यो सफलता अघिसम्म गुमनाम जस्तै रहेका अजितबाट अबका वर्षमा नेपाली एथलेटिक्सले ठूलो आशा राख्न सक्छ ।
प्रतिमा शेर्पा, गल्फ
नेपाली मिडियामा भन्दा पनि विदेशतिर बढी चर्चामा रहने खेलाडी हुन्— प्रतिमा शेर्पा । उनी नेपालकी नम्बर १ महिला गल्फ खेलाडी हुन् र यसैक्रममा उनी अमेरिकामा व्यवसायिक गल्फ खेल्ने पहिलो नेपाली खेलाडी समेत भएकी छिन् । शेर्पाले सिमेट्रा टुरमा सहभागिता जनाएर इतिहास रचिन् । उनी केही समययता अमेरिकामा छिन् र त्यहाँ खेल तथा अध्ययन दुवैलाई अघि बढाइरहेकी छिन् । उनको यो उडान नेपाली गल्फका लागि सुखद मानिएको छ ।
महेश्वर महर्जन, शारीरिक सुगठन
वर्ष २०७५ मा नेपाली खेलकुदमा छाएका प्रमुख खेलाडीमा पर्छन्, शारीरिक सुगठनका— महेश्वर महर्जन । उनले थाइल्यान्डमा भएको १० औं वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण जिते, ७५ किलो तौल समूहमा । शारीरिक सुगठनमा नेपालले हात पारेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो । त्यति मात्र होइन, वर्ल्ड च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको पनि यो नै पहिलो अवसर हो । वर्ल्ड बडिबिल्डिङमा संगठनात्मक विवाद रहेको र त्यसको असर नेपालमा पनि परेको हुनाले उनको उपलब्धि भने लगभग कमजोर जस्तै देखियो ।