वर्ष २०७५ मा सर्वाधिक ९३ वटा चलचित्र प्रदर्शनमा आए । तीमध्ये ९० प्रतिशतभन्दा बढी चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सकेनन् । ५ प्रतिशत चलचित्रले लगानी सुरक्षित गरे भने बाँकी ५ प्रतिशत चलचित्रले मात्र मुनाफा आर्जन गरे । चलचित्रको व्यवसायिक पक्ष जे जस्तो भए पनि चलचित्र क्षेत्रमा यो वर्ष झण्डै दुई दर्जन नयाँ अनुहार अभिनेता तथा अभिनेत्रीका रूपमा रजतपटमा पदार्पण गरेका छन् । पदार्पण गर्ने नयाँ अनुहारमध्ये अधिकांशले प्रभावकारी काम गरे भने केहीले रहर पूरा गर्न मात्र चलचित्र क्षेत्रलाई रोजेका देखियो ।
धीरज मगर
चलचित्र इन्टु मिन्टु लण्डनमार्फत पदार्पण गर्ने अभिनेता धीरज मगर बेलायतमा बसोबास गर्छन् । आफ्नो चकलेटी लुक्सका कारण धीरजको फ्यान फलोइङ आकर्षक छ । पहिलो चलचित्रको मध्यम व्यवसायपछि यी अभिनेता दोस्रो चलचित्र आई एम ट्वान्टी वानमा अनुबन्ध भैसकेका छन् ।
उपासना सिंह ठकुरी
निर्माता भुवन केसीको चलचित्र क्याप्टेनबाट रजतपटमा आएकी अभिनेत्री हुन्– उपासना सिंह ठकुरी । अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्दै अभिनय यात्रा प्रारम्भ गरेकी उपासनाले पहिलो चलचित्रबाटै प्रशस्त सम्भावना देखाएकी छिन् ।
हरिहर अधिकारी
पेसाले ज्योतिष हुन्– हरिहर अधिकारी । उनले अभिनय गरेको पहिलो चलचित्र शुभ लभ दुई हप्ताअघि मात्र प्रदर्शनमा आयो । ज्योतिष विधामा सफल हरिहरले पहिलो चलचित्रमा राम्रै अभिनय गरेका छन् । यद्यपि, उनले अभिनयलाई नै करियर बनाउने सम्भावना भने निकै कम देखिन्छ ।
प्रियंका एमभि
चलचित्र क्याप्टेनबाट अभिनयमा आएकी प्रियंका एमभिले पनि राम्रो सम्भावना देखाएकी छिन् । अनमोल केसीको जोडीका रूपमा प्रस्तुत भएकी प्रियंकाले अभिनयमै करियर बनाउने योजना बनाएकी छिन् ।
आशिष पिया
चलचित्र समर लभबाट रजतपटमा आएका चितवनका युवा उद्यमी हुन्– आशिष पिया । आकर्षक व्यक्तित्वका धनी पियाले पहिलो चलचित्रबाट सम्भावना त देखाएका छन् नै, यद्यपि अभिनयलाई निरन्तरता दिने विषयमा उनी आफैं अन्यौलमा छन् ।
मलिका महत
यात्रा : अ म्युजिकल ब्लगमार्फत अभिनय क्षेत्रमा आएकी मलिका महतले पहिलो चलचित्रमै दृष्टिविहीन युवतीको भूमिका निर्वाह गरेकी छिन् । अभिनेता सलिनमान बनियाँको जोडीका रूपमा मलिका प्रभावकारी देखिएकी छिन् ।
मुकुन भुषाल
ओस्कार कलेजबाट अभिनयमा स्नातक गरेर भारतबाट स्नातकोत्तर गरेका मुकुन भुसालले पहिलो चलचित्रबाटै प्रशस्त सम्भावना देखाएका छन् । चलचित्र बुलबुलमा स्वस्तिमा खड्कासँग अभिनय गरेका मुकुनको अभिनयमा नयाँपन पाइन्छ ।
सुहाना थापा
अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन्– सुहाना थापा । चलचित्र ए मेरो हजुर–३ बाट दर्शकमाझ आएकी सुहानाले पहिलो चलचिक्रमै अनमोल केसीसंग अनस्त्रिम रोमान्स गर्ने मौका पाएकी सुहानाले पहिलो चलचित्रको प्रतिक्रियापछि मात्र अभिनयको भविष्य निर्धारण हुने बताएकी छिन् ।
किशोर खड्का
चलचित्र बाँध मायालेबाट रजतपटमा आएका अभिनेता हुन्– किशोर खड्का । चलचित्रको व्यवसायिक पक्ष औषत रहे पनि किशोरले प्रहरी अधिकृत तथा प्रेमिका रूपमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।
निरिशा बस्नेत
चलचित्र जानी नजानीबाट रजतपटमा आएकी निरिशा बस्नेत चलचित्रकर्मी विश्व बस्नेतकी छोरी हुन् । मुम्बईमा बसेर हिन्दी धारावाहिकहरूमा अभिनय गरिरहेकी निरिशाले आफ्नो पहिलो नेपाली चलचित्रबाट राम्रो सम्भावना देखाएकी छिन् ।
समुन्द्र पण्डित
चलचित्र अनुरागबाट चलचित्रमा आएका अभिनेता हुने– समुन्द्र पण्डित । एलिजा गौतमसँग अनस्क्रिन रोमान्स गर्दै रजतपटमा उदाएका पण्डितले भविष्यमा पनि अभिनयमै सक्रिय रहने योजना बनाएका छन् ।
शुभेच्छा खड्का
मिस नेपाल २०१२ मा मिस इन्टरनेसनल नेपालको उपाधि जित्न सफल सुन्दरी हुन्– शुभेच्छा खड्का । चलचित्र रणवीरमार्फत रजतपटको यात्रा प्रारम्भ गरेकी शुभेच्छाले पनि अभिनयलाई निरन्तरता दिइरहने बताएकी छिन् ।
कबिर खड्का
आकर्षक व्यक्तित्वको धनी छन्– कबिर खड्का । खड्काले चलचित्र लम्फूबाट रजतपटमा पदार्पण गरेका हुन् । यही वर्ष उनी दोस्रो चलचित्र तिमी र ममा समेत अनुबन्धित भएका छन् । खड्का चलचित्रमा आउनुअघि मोडलिङ गर्थे ।
कामना भुजेल
यश कुमारको चलचित्र छिरिङबाट रजतपटमा आउने अभिनेत्री हुन्– कामना भुजेल । मोडलिङ गर्दा–गर्दै चलचित्रमा आएकी कामनाले अभिनयलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा निर्णय गरिसकेकी छैनन् ।
उमेश थापा
व्यवसायिक रूपमा सफल चलचित्र बोबीबाट रजतपटमा उदाएका अभिनेता हुन्– उमेश थापा । नर्बेमा बसोबास गर्ने उमेशले आफ्नै जीवनकथामा आधारित चलचित्रमार्फत अभिनय यात्रा प्रारम्भ गरेका हुन् । अभियनमा अनुभव नभए पनि पहिलो चलचित्रबाट उनले प्रशस्त सम्भावना देखाएका छन् ।
करुणा श्रेष्ठ
चलचित्र सय कडा दशबाट रजतपटमा आएकी करुणा श्रेष्ठ चलचित्रमा आउनुअघि मोडलिङमा सक्रिय थिइन् । मिस कलेज–२०१२ की विजेता करुणाले विज्ञापन तथा म्युजिक भिडियोहरूमा पनि अभिनय गरिसकेकी छिन् । पहिलो चलचित्र भए पनि करुणाले सय कडा दशमा स्तरीय भूमिका निर्वाह गरेकी छिन् ।
सुनिल क्षेत्री
नृत्यमा आधारित रियालिटी शो डिआईडीमा आफ्नो नृत्य कला प्रस्तुत गरिसकेका सुनिल क्षेत्री कुशल नृत्यकारका साथै सफल कोरियोग्राफर समेत हुन् । सुनिलले चलचित्र चीं मुसी चींबाट अभिनयमा पाइला चालेका छन् ।
शिल्पा मास्के
अभिनेत्री शिल्पा मास्के त्यस्ती भाग्यमानी कलाकार हुन्, जसले पदार्पण गरेकै वर्ष तीन वटा चलचित्रमा अभिनय गरिन् । तीमध्ये द ब्रेकअप तथा कागजपत्र त प्रदर्शन नै भैसकेका छन् । अहिले उनी चलचित्र सानो मनमा व्यस्त छिन् ।
अभिषेक नेपाल
चलचित्र नाइँ नभन्नु ल–५ बाट अभिनेताका रूपमा पदार्पण गरेका अभिषेक नेपालले पहिलो चलचिक्रमै स्वस्तिमा खड्कासँग अनस्त्रिन रोमान्स गर्ने मौका पाए ।
आश्मा गिरी
चलचित्र ड्रिमगर्लमार्फत रजतपटमा आउने नयाँ अनुहार हुन्– आश्मा गिरी । उक्त चलचित्रको व्यवसायिक पक्ष सुखद नरहे पनि आश्माले भने सकारात्मक प्रतिक्रिया पाइन् । नृत्यमा अब्बल आश्माले पनि चलचित्रमै करियर बनाउने योजना बनाएकी छिन् ।
सुपुस्पा भट्ट
चलचित्र रणवीरमार्फत रजतपटमा आएकी अभिनेत्री सुपुष्पा भट्टले आफ्नो सौन्दर्यबाट राम्रो प्रशंसा पाइरहेकी छिन् । अडिसनमार्फत पहिलो चलचित्रमा छनोट भएकी सुपुष्पाले अभिनयमै करियर बनाउने निर्णय गरेकी छिन् ।
कमला वली
रेखा थापाको चलचित्र मालिकामार्फत रजतपटमा आएकी नयाँ अभिनेत्री हुन्– कमला वली । १५ वर्षीया वलीले पहिलो चलचित्रबाट दर्शकलाई प्रभावित बनाइन् ।