साप्ताहिक संवाददाता
मल्यालम सिनेमाकी चर्चित अभिनेत्री संगीता त्रिसले आफ्नी आमामाथि चरम शोषणको आरोप लगाएकी छन् । उनकी आमाले आफ्नो सम्पति हत्याउन छोरीले आफूलाई घरबाट निकालेको आरोप लगाएपछि ट्विटरमा लामो पोस्ट लेख्दै संगीताले आमाको शोषणको खुलासा गरेकी हुन् ।
उनले लेखेकी छिन्
प्यारी मम,
‘यो संसारमा ल्याएकोमा धन्यवाद । १३ वर्षको उमेरमानै स्कुलबाट निकालेर पैसा कमाउन काममा लगाएकोमा धन्यवाद । खाली चेकहरूमा हस्ताक्षर गर्न लगाएकोमा धन्यवाद । जीवनमा कहिल्यै काम नगरेका तिम्रा जड्याहाँ र दुर्बेशनी छोराहरूको ऐशआरामका लागि मलाई शोषण गरेकोमा पनि धन्यवाद । तपाईंका निर्णयहरूमा हस्तक्षेप नगरोस भन्नाका खातिर घरको एक कुनामा मलाई थन्काएकोमा धन्यवाद । मैले उपाय ननिकाल्दासम्म मलाई बिहे गर्न नदिएकोमा पनि धन्यवाद । लगातार मेरो पति र मेरो परिवारको शान्ति भंग गरेकोमा पनि धन्यवाद । आमा कस्ती हुनुहुँदैन भनेर मलाई सिकाएकोमा धन्यवाद । र, अन्तमा पछिल्लो समय मलाई लगाएको आरोपको लागि पनि धन्यवाद किनकी जान अन्जानमा तपाईका यी क्रियाकलापले तपाईंकी लाटी सुधी बच्चालाई लडाकु र परिपक्व बनाएको छ । यसका लागि साधै तपाईंलाई म माया गरिरहनेछु ।’
उनको सो ट्वीटमा उनका पति क्रिसले पनि समर्थन जनाउँदै उनको पीडा राम्ररी बुझेको लेखेका छन् । ‘गंगोत्री’ चलचित्रबाट डेब्यू गरेकी संगीतले फिल्मफेयर अवार्ड समेत जितेकी थिईन ।