साप्ताहिक संवाददाता
सबै व्यवसायिक क्षेत्रको वार्षिक मूल्यांकन भएजस्तै केही वर्षदेखि नेपाली साहित्य तथा स्रष्टाका कृतिको मूल्यांकन पनि हुँदै आएको छ । वर्ष २०७५ मा प्रकाशन भएका नेपाली साहित्यका विभिन्न विधाका कृतिको बिक्री, चर्चा एवं विषयवस्तुको मूल्यांकनसहित आख्यान (कथा–उपन्यास) र गैर–आख्यान विधाका उत्कृष्ट ५–५ कृतिलाई २०७५ का वर्ष पुस्तकका रूपमा हामीले लिएका छौं । लेखक, पुस्तक प्रकाशनको गुणवत्ता एवं साहित्यिक पुस्तक बजार हिस्साजस्ता आधारमा वर्ष २०७५ का ५ उत्कृष्ट प्रकाशन यहाँ प्रस्तुत गरिएको छ :
उत्कृष्ट पाँच आख्यान
प्रिय सुफी
युवा पुस्तालाई लक्षित उपन्यास तथा कथा लेखेर आफ्नो अलग पहिचान बनाएका सुबिन भट्टराईको चौंथो उपन्यास हो— प्रिय सुफी । गत वर्ष प्रकाशन भएका आख्यानमा सर्वाधिक बिक्री भएको यो उपन्यासले युवा पुस्तामा पढ्ने बानीको विकासलाई बढावा दिएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको यो पुस्तक गत वर्षको बेस्ट–सेलर उपन्यास हो ।
सखी
ऐना कथा संग्रहबाट मदन पुरस्कार प्राप्त गरेका लेखक रामलाल जोशीको पहिलो उपन्यास हो— सखी । किनाराकृत वर्गका कथालाई आफ्नो लेखनीको विषय बनाउँदै आएका जोशीले यो उपन्यासमा थारू जातिको दुःख, पीडा एवं संघर्षलाई ‘सखी’ पात्रमार्फत उन्ने प्रयास गरेका छन् । सुदूरपश्चिमको थारू जातिको स्थानीय लवजले उपन्यासलाई अझ पठनीय बनाएको छ । बुक–हिलले प्रकाशन गरेको यो उपन्यास गत वर्षको बेस्ट–सेलर कृति हो ।
रणहार
ऐतिहासिक उपन्यासका रूपमा वर्ष २०७५ मा बजारमा आएको यो पुस्तक योगेश राजले लेखेका हुन् । भक्तपुरका अन्तिम राजा रणजित मल्ललाई नायक बनाएर लेखिएको यो उपन्यासले भक्तपुरको सांस्कृतिक सम्पदाको पनि व्याख्या गरेको छ । नेपालयले प्रकाशन गरेको यो पुस्तक पठनीय छ ।
अघोरी
कथाकार राजेन्द्र पराजुलीका १७ थान कथाको संग्रह हो— अघोरी । समसामयिक राजनीति र यथार्थ जीवनका विषयवस्तुलाई कथामा उनिएको यो पुस्तक किताब पब्लिसर्सले बजारमा ल्याएको हो ।
पाई
आधा दर्जन कथा एवं उपन्यास नेपाली पाठकलाई दिइसकेका कथाकार राजवको कथा संग्रह हो— पाई । अमेरिकी नेपाली जीवनका विचलनलाई कथाकार राजवले यो संग्रहका २० वटा कथामा समेटेका छन् । समकालीन परिवेश एवं सन्दर्भअनुसार अमेरिकाका नेपालीहरूको जीवन बुझ्न राजवको यो संग्रह धेरै हदसम्म सहायक हुन्छ ।