साप्ताहिक संवाददाता
हेपाटाइटिस बी र मधुमेहको औषधि नेपालमै
हेपाटाइटिस बीका लागि अत्यावश्यक मानिने औषधि इन्टेकाभिरको उत्पादन नेपालमै सुरु भएको छ । नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले स्वदेशमै उक्त औषधिको उत्पादन सुरु गरेको हो ।
नेपालमा हेपाटाइटिस बीको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै म्याग्नसले इन्टेका–बी ब्रान्ड नामका साथ ‘इन्टेकाभिर’ नेपाली बजारमा ल्याएको हो । इन्टेका–बीले हेपाटाइसटिस बी भाइरस बढ्न रोक्छ, जसले गर्दा शरीरमा हेपाटाइटिस बी भाइरस बढ्न पाउदैन र रोगको रोकथाम हुन्छ ।
त्यसैगरी म्याग्नसले इम्पाग्लिफ्लोजिन नामक मधुमेहको औषधि बजारमा आएको छ । म्याग्नसले औषधिको ब्रान्ड नेम भने ‘ग्लिाफज’ राखिएको छ ।
डीएनए परीक्षण गर्ने मेसिन
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डीएनए परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेसिन’ भित्रिएको छ । अमेरिकी युथ विश्वविद्यालयको अनुदान सहयोगमा नेपाल आइपुगेको उक्त मेसिनमार्फत पाठेघरको ह्युमन प्यापिलोमा स्क्रिन गर्न सकिन्छ । यो मेसिनको प्रयोग पाठेघरको पानी वा मासु लिएर एचपीभी भाइसरको मात्रा पत्ता लगाउन गरिन्छ । यसअघि चितवनमा यो प्रविधि नहुँदा परीक्षणका लागि भारत जानुपर्ने अवस्था थियो भने मेसिन भित्रिएसँगै उक्त बाध्यता हटेको छ ।
ट्रकोमा रोग निवारणमा सफलता
नेपाल अन्धोपनको प्रमुख कारणका रूपमा रहेको ट्रकोमा रोग निवारण गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो राष्ट्र भएको छ । सन् २०१८ को मे महिनामा ११ संङगठनले आधिकारिक रूपमै नेपाललाई जनस्वास्थ्य समस्याका रूपमा रहेको ट्रकोमा निवारण गर्ने देश घोषित गरेका थिए ।
ट्रकोमा क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुका कारणले आँखामा लाग्ने एक प्रकारको रोग हो । यसका कारण आँखाको ढकनीमुनिको भागमा खस्रोपन सिर्जना गर्छ, जसले गर्दा आँखाको बाहिरी सतह टुट्दै अन्त्यमा अन्धोपन हुन्छ ।
कलेजो प्रत्यारोपणका लागि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालले गएको माघ महिनामा कलेजो प्रत्यारोपण सेवा सञ्चालनका लागि लाइसेन्स प्राप्त गर्यो । लाइसेन्स पाएसँगै अस्पतालले प्रत्यारोपणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । अस्पतालका कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीले यसको नेतृत्व गरेका छन् । अस्पतालले सुरुका केही प्रत्यारोपण भारतको एपोलो अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. निरभ गोयलको सहयोग लिनेछ ।
महिनावारी सुकेको चार वर्षपछि आमा
महिनावारी सुकेको चार वर्षपछि काठमाडौंकी एक महिला आइभिएफ अर्थात् टेस्ट ट्युब बेबी पद्धतिबाट आमा बन्न सफल भइन् । ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एन्ड फर्टिलिटी सेन्टरमा टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मासँग उपचार गराएकी आमा बन्ने ती महिला ४५ वर्षकी भएको बताइएको छ । डा. शर्मासँग एक वर्षदेखि बाँझोपनको उपचार गराउँदै आएकी ती महिलाले गएको माघ महिनामा बयोधा अस्पतालमा जुम्ल्याह सन्तान जन्माएकी हुन् ।
वीर अस्पतालमा नयाँ सिटी स्क्यान
वीर अस्पतालमा १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान जडान गरिएको छ । अस्पतालले उक्त मेसिन ८ करोड ८४ लाख रुपैयाँमा खरिद गरेको हो । अस्पतालमा यसअघि १६ स्लाइस क्षमताको सिटी स्क्यान थियो । सिटी स्क्यान मेसिनको जति बढी क्षमता भयो, उति राम्रो रिपोर्ट आउँछ । वीरको पुरानो सिटी स्क्यान पनि बिग्रिएको थियो, जसका कारण बिरामीले बाहिर जानु पर्ने बाध्यता थियो । नयाँ उपकरणबाट सेवा सुरु भएसँगै बिरामीले अस्पतालभित्रै सेवा प्राप्त गर्न थालेका छन् ।