साप्ताहिक संवाददाता
अब त तयजस्तै भएको छ, नेपाली टेबल टेनिसले पाएको अहिलेसम्मकै सबैभन्दा प्रतिभाशाली स्टार खेलाडी हुन्— नबिता श्रेष्ठ । उनको प्रदर्शन र उपलब्धिलाई लिएर अब कसैले प्रश्न उठाउन सक्ने छैनन् । केही समयअघि नबितासँग सोधिएको थियो, कहिलेसम्म खेलिरहने ? अनि कहिलेसम्म जितिरहने ? त्यसमा उनको जवाफ मुस्कान मात्र थियो । उनी अझै बढी खेल्न चाहन्छिन्, अझै बढी जित्न चाहन्छिन् । आराम लिने उनको कुनै योजना छैन ।
यसकै उदाहरण हो, नबिता आठौं पटक नेपालको महिला च्याम्पियन भएकी छिन्, त्यो पनि लगातार । आठौं राष्ट्रिय खेलकुदको अवसर पारेर भएको ४० औं राष्ट्रिय टेबल टेनिसमा नबितालाई कसैले रोक्न सकेन र उनी भइन्, निर्विवाद च्याम्पियन । यसपटक पनि उनले उपाधिको होडमा आफ्नै परिवारकी सदस्य एलिना महर्जनलाई सजिलै हराइन् । नबिताको अब्बलता यहीं आएर रोकिँदैन । उनी उत्कृष्ट प्रशिक्षकसमेत भैसकेकी छिन् ।
त्यसैले त हो, उनकै चेला स्यान्टु श्रेष्ठले जिते, पुरुष सिंगल्सको उपाधि । गुरु चेलाको यस्तो प्रदर्शन वास्तवमै दुर्लभ हुन्छ । नबिता र स्यान्टुले मिक्स डबल्समा पनि स्वर्ण पदक जिते । समग्रमा राष्ट्रिय टेबल टेनिसमा पुलिसले ६ वटा स्वर्ण पदक जित्दै शीर्ष स्थान हात पार्यो । पुलिसको महिलामा मात्र होइन, पुरुष सिंगल्समा पनि वर्चश्व रह्यो । एपीएफ एक स्वर्णमा सीमित भयो । नेपाली टेबल टेनिसमा पुलिसको दबदबा फेरि एकपटक सिद्ध भएको छ ।
फेन्सिङ
नेपाली खेलकुदमा खासै लोकप्रिय छैन— फेन्सिङ । यो खेलको इतिहास पनि लामो छैन, भर्खर–भर्खर जस्तै हो, यसले नेपाली खेलकुदमा प्रवेश पाएको । त्यसैले यो खेलका धेरै खेलाडी पनि छैनन्, तर यही खेलका नियमित प्रतियोगिता भने हुन थालेका छन् र यसले आठौं राष्ट्रिय खेलकुदमा पनि प्रवेश पायो । प्रतियोगितामा अपेक्षाअनुसार नै आर्मी टिम च्याम्पियन भयो । आर्मीले ६ स्वर्ण, ४ रजत तथा ५ कांस्य जितेर नेपाली फेन्सिङमा आफ्नो वर्चस्व सिद्ध गर्यो ।
ट्रायथलन र दुवाथलन
आठौं राष्ट्रिय खेलकुदमा ट्रायथलन र दुवाथलनका खेल पोखरामा भए र त्यसमा पनि अपेक्षाअनुसार विभागीय टिमकै वर्चस्व रह्यो । ट्रायथलनमा पुरुषतर्फ आर्मीका दीपेश चौधरी पहिलो भए । ट्रायथलनमा २० किलोमिटरको साइकिलिङ, ७ सय ५० मिटर पौडी तथा ५ किलोमिटर दौड समावेश थियो । महिलातर्फ सोनी गुरुङले स्वर्ण पदक जितिन् । दुवाथलनमा भने पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल अनि महिलातर्फ एपीएफकै हुमी बूढामागर पहिलो भए ।