साप्ताहिक संवाददाता
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ पोखराबाट गरिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराले फेवाताल किनारास्थित कोमागाने पार्कमा संचालन गरेको फेवा नववर्ष महोत्सव–२०७६ का अवसरमा नेपाल भ्रमण वर्षको ‘सफ्ट लन्चिङ’ गरिएको हो ।
पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गर्न थप मद्दत पुग्ने गरी कार्यक्रमको शुभारम्भ गरिएको नेपाल भ्रमण वर्ष–२०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले बताएका छन् ।
छिमेकी मुलुक चीन र भारतबाट पर्यटक भित्र्याउन २०२० मा प्रदेश सरकारले छिमेकी पर्यटन भ्रमण वर्षसमेत घोषणा गरेको बताउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी वर्ष लगानी सम्मेलन समेत गरेर अर्बौं लगानी भित्र्याउने जानकारी दिए । २०२२ मा गण्डकी प्रदेशले मात्र २० लाख पर्यटक भित्र्याउने दाबी मुख्यमन्त्री गुरुङको छ । गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटक वर्ष समेत घोषणा गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालमा पर्यटन प्रवर्द्धन गर्न हवाई सेवालाई व्यवस्थित तुल्याउन लागिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालीपन झल्कने गरी बुटिक विमान स्थलका रूपमा विकसित गर्न लागिएको उनले जानकारी दिए ।