साप्ताहिक संवाददाता
आठौं राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो विशेषता हो दुई वर्षको अन्तरमा निर्धारित समयमै यसको आयोजना हुनु । त्यसले समय सीमा पार गरेन । आउने दिनमा यो परम्परा कायम भए, यसले नेपाली खेलकुदका सबै क्षेत्रलाई उत्साहित बनाउनेछ, तै पनि आठौं राष्ट्रिय खेलकुद पनि आलोचनाबाट मुक्त रहन सकेको छैन र सुरुवाती दिनमा सबैभन्दा कमजोरीका रूपमा देखा परेको छ— खराब व्यवस्थापन । अधिकांश दुखेसो खराब व्यवस्थापनकै छ ।
पछिल्ला केही संस्करणका राष्ट्रिय खेलकुदलाई आधार मान्ने हो भने खराब व्यवस्थापन नै संघको सबैभन्दा ठूलो समस्या हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट पनि मान्छन्, नेपालमा ठूलो खेलकुद महोत्सवको आयोजना गर्दा व्यवस्थापनमा चुस्तताको अभाव देखिन्छ । खराब व्यवस्थापनको न्यूनीकरण नै हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो ।
यसपटकको कपर्दी बर्दियामा भयो र खेलाडीहरू प्रतियोगितालाई लिएर निकै उत्साहित थिए । यद्यपि जति बेला खेल्ने क्रममा खेलाडी धमाधम घाइते हुन थाले, त्यो उत्साह निराशामा परिणत हुन पुग्यो । खेल स्थल मगरपुरमा थियो र त्यो कोहलपुरबाट टाढै छ, तर आयोजना स्थलमा होटलको अभावले खेलाडीहरूलाई समस्या भयो । सबैभन्दा ठूलो समस्या प्रतिस्पर्धाका लागि ओछयाइएको म्याट रह्यो । उक्त म्याट निकै कमजोर र कम गुणस्तरको भएको खेलाडीहरूको आरोप छ । त्यसैले त उक्त म्याटमा खेल्ने खेलाडीहरू एकपछि अर्को गरी घाइते भए ।
फुटबल र एथलेटिक्सका लागि प्रयोग हुने मैदान खेल सुरु हुने समयसम्म पनि तयार हुन सकेका थिएन । राष्ट्रिय प्रतियोगिता अनौपचारिक रूपमा सही, सुरु त भैसकेको छ नै, तर त्यसका लागि खेल स्थानको निर्माण भने अझैसम्म पूरा हुन सकेको छैन, निर्माणको क्रम जारी छ । त्यसका लागि रातारात काम भैरहेको छ । खेलाडीले बेहोर्नुपरेको समस्या आयोजना स्थलमा प्रचण्ड गर्मी र त्यसले निम्त्याएको दुःख पनि उत्तिकै रह्यो ।
नेपालगञ्ज लगायत प्रमुख खेल स्थलमा दिउँसो प्रचण्ड गर्मी हुने गरेको छ र त्यसले खेलाडीहरूको प्रदर्शनमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेको छ । प्रतियोगिता सुरु हुनुअघि नै बहस चलेको थियो, वैशाखको गर्मीमा नेपालगन्ज लगायत पश्चिम नेपालका विभिन्न स्थानमा प्रतियोगिता सञ्चालन गर्नु हुन्छ कि हुँदैन भनेर । बहसबीच पनि प्रतियोगिता भने भयो नै । गर्मीले गर्दा अहिले खेलाडीहरूले आफूले सक्ने प्रदर्शन गर्न सकेका छैनन् र यसले खेलाडीहरूमा निराशा छाएको छ ।
खेलाडीहरूलाई लामखुट्टेले पनि उत्तिकै समस्यामा पारेको छ । अधिकांश खेलाडीले लामखुट्टेकै कारण पर्याप्त सुत्न नपाएको गुनासो गरेको पनि सुनियो । यस्तै अर्को गुनासो समाचार संकलनका लागि पुगेका पत्रकारहरूको पनि रह्यो । हक्कीका खेलाडीहरूले एक समान जर्सी पाएनन् । यसले कुन टिमविरुद्ध कसले खेल्दैछ भनेर छुट्याउन समेत गाह्रो भयो । गोल कसले कसका लागि गर्यो, छुट्याउन पनि गाह्रो थियो । त्यही कारणले खेलाडीहरू आफैं पनि अन्यौलमा परेको देखियो ।