साप्ताहिक संवाददाता
न्याय : करिब ४ दशक नेपाली न्यायालयमा बिताएकी सुशीला कार्कीको आत्मकथा हो, न्याय । सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदा महाअभियोगसमेत भोगेकी कार्कीले आफ्नो जीवनमा भोगेका न्यायिक क्षेत्रका संस्मरणलाई यो पुस्तकमा समेटेकी छिन् । निष्ठावान् जीवन जिउन सिकाउने यो पुस्तक बुक–हिलले प्रकाशन गरेको हो । नेपालको न्यायालयको नालीबेली बुझ्न सहायक हुने यो पुस्तक गत वर्षको बेस्ट सेलर पुस्तक हो ।
छुटेका अनुहार : कवि रमेश सायन निबन्धकार बन्दा जन्मिएको कृति हो— छुटेका अनुहार । काव्यिक भाषामा स्वदेशी र विदेशी भूमिका आफ्ना भोगाइ व्यक्त गरेका छन् । कलात्मक लेखाइ यो पुस्तकको आकर्षण हो । लिपि बुक्सले प्रकाशन गरेको यो पुस्तक गत वर्ष सर्वाधिक पाठकको रोजाइमा छ ।
कोरियाना कफी गफ : कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले ‘पल्पसा क्याफे’का लागि मदन पुरस्कार प्राप्त लेखकसमेत हुन् । आफ्नो कोरिया भ्रमणका दौरान देखे–भोगेका विषयलाई ‘कोरियाना कफी गफ’मा उनेका वाग्लेले भाषिक शिल्पका कारण यो पुस्तकबाट पाठकलाई आकर्षित गर्छन् । नेपालयले प्रकाशन गरेको यो पुस्तक गत वर्षको चर्चित गैर–आख्यान हो ।
७२ को विस्मय : पत्रकार वसन्त बस्नेतको मधेश बुझाइको पुस्तक हो— ७२ को विस्मय । ०७२ को भूकम्पपछि नेपाली राजनीतिमा आएको तरङ्ग तथा भारतीय नाकाबन्दीसम्मका परिघटनालाई बस्नेतले यो पुस्तकमा उन्ने प्रयास गरेका छन् । समसामयिक राजनीति एवं इतिहास अध्येताहरूका लागि उपयोगी गत पुस्तक फाइन प्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।
साइड हिरो : चलचित्र लेखनमा आफ्नो छवि बनाएका ब्रजेश खनालको संस्मरण हो— साइड हिरो । चलचित्र क्षेत्रका उतार–चढाव, गाढा–उज्याला बान्कीलाई उनले आफूलाई साइड हिरो बनाउँदै उनेका छन् यो संस्मरणमा । सांग्रिला बुक्सले प्रकाशन गरेको यो पुस्तक गत वर्षको चर्चित पुस्तक हो ।