साप्ताहिक संवाददाता
गीत निर्माणमा गीतकार, संगीतकारले सोच–विचार नपुर्याउँदा कतिपय गीत विवादित बन्न पुग्छन् । गत वर्ष पनि केही गीत चर्चा र विवादमा तानिए । गायक पशुपति शर्माको लय तथा शब्दको ‘लुट्न सके लुट’ गीतप्रति असन्तुष्टि जनाउँदै तत्कालीन नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले आपत्ति जनाएपछि गायक शर्माले आफ्नो युट्युब च्यानलबाट उक्त गीत हटाए । गीत हटाएपछि पनि उक्त गीतसम्बन्धी बहस भने रोकिएन । यो प्रकरण अभिव्यक्ति स्वतन्त्रताविरुद्धको घटनाका रूपमा अगाडि आयो ।
कालिप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा स्वरको ‘इन्स्टाको फोटो’ गीत गत वर्ष सार्वजनिक भएको थियो । यो गीतलाई कार्ला ब्रुनीको फ्रेन्च गीतबाट कपी गरिएको आरोप लाग्यो । उक्त गीत विवादमा आएपछि बाँस्कोटाले आफ्नो गल्ती स्वीकार गरेका थिए ।
गत वर्षको सर्वाधिक हिट लोकदोहोरी गीत ‘सालको पात टपरी’लाई नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले स्टेजमा बिगारेर गाएको भन्दै संगीतकार वसन्त थापाले आपत्ति जनाए । रविले आफूले गल्ती गरेको भन्दै क्षमा मागे । यद्यपि संगीतकार थापाले भने रवि ओडले गीत बिगारेर गाउँदा पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मौन बसेको भन्दै प्रतिष्ठानबाट अलग्गिने घोषणा फेसबुकमार्फत गरे । यही विषयलाई लिएर सामाजिक सञ्जालदेखि लिएर हरेक क्षेत्रमा चर्काचर्की हुन थालेपछि थापाले आफ्नो सिर्जना रविको आवाजमा रेकर्ड गर्ने घोषणा समेत गरे । यद्यपि हालसम्म न थापाले प्रतिष्ठानबाट राजीनामा दिएका छन्, न रविले उनको सिर्जनामा गीत रेकर्ड गराउन पाएका छन् ।
यस्तै सालको पात टपरी हुनी गीतका संगीतकार वसन्त थापा र गायक कुलेन्द्र विश्वकर्माबीच पनि विवाद उत्पन्न भएको बताइयो । सालको पात गीत कुलेन्द्रको पाँचौं एल्बम भए पनि थापाले कतिपय स्थानमा आफ्नै लगानीमा निर्माण गरेको भन्दै हिँडेपछि कुलेन्द्रले असन्तुष्टि जनाएको खबर सार्वजनिक भएको थियो । यो विषयमा गायक विश्वकर्मा आफूहरूको सम्बन्ध राम्रो रहेको र कुनै विवाद नरहेको बताउँछन् ।
पुरानो चलचित्र ‘आफ्नो मान्छे’मा समावेश भएको गीत ‘चट्ट रुमाल’लाई रिमिक्स गरेर चलचित्र यात्रामा समावेश गरिएको छ । सार्वजनिक भएसँगै उक्त रिमिक्सले दर्शक–श्रोताहरूबाट गाली मात्र पायो । शम्भुजित बाँस्कोटाको संगीत तथा बाबुराम दाहालको शब्दको उक्त पुरानो गीतमा शम्भुजित र साधना सरगमको स्वर थियो भने नयाँ भर्सनमा गायक धर्मेन्द्र सेवान र मेलिना राईको स्वर छ । दर्शक–श्रोताले उक्त रिमिक्सको आलोचना गरेपछि गायिका मेलिनाले आपत्ति जनाउँदै चलचित्र यात्राको टिमफ्रति आक्रोश व्यत्त गरिन् । यद्यपि निर्माण पक्षले यो गीत चलचित्र यात्रामा समावेश गर्न कपिराइट लिएको थियो ।