सम्भवतः टिकटकमा सर्वाधिक फ्यान भएकी नेपाली अन्जु भण्डारी हाल अस्ट्रेलियाको सिड्नीमा छिन् । काठमाडौं, कपनकी २० वर्षीया भण्डारी एसएलसी प्रिन्सेस–२०१५ की विजेता हुन् । अध्ययनको सिलसिलामा दुई वर्षअघि अस्ट्रेलिया पुगेकी अन्जुलाई टिकटकमा झन्डै ५६ लाखले पछ्याएका छन् । ५ फिट ३ इन्च अग्ली अन्जु अस्ट्रेलियामा अध्ययनसँगै मोडलिङमा पनि सक्रिय छिन् । कुशल नृत्यांगना अन्जु बास्केटबल तथा पौडी खेल्न रुचाउँछिन् । उनले केही म्युजिक भिडियोमा समेत मोडिलिङ गरेकी छिन् । अन्जु र उनका अन्य ६ जना साथीले सिड्नीमा ॅहाइफाइभ डान्स कृउ’ गठन गरेका छन्, जसले अस्ट्रेलिया हुने विभिन्न इभेन्टमा प्रस्तुति दिने गरेको छ । टिकटककी सर्वाधिक हिट नेपाली अन्जुसँगसाप्ताहिकका जनक तिमिल्सिनाले अनलाइन कुराकानी गरेका थिए ।
केमा व्यस्त हुनुहुन्छ ?
अस्ट्रेलिया आएको दुई वर्ष भयो, स्टडी र जबमै व्यस्त छु । अर्लि चाइल्ड हुड पढिरहेकी छु । त्यसबाहेक कहिलेकाहीं टिकटक बनाउने अनि अरू विभिन्न कार्यक्रममा व्यस्त रहन्छु ।
सिड्नीको बसाइ कस्तो भैरहेको छ ?
रमाइलै छ यताको बसाइ । सबै एकदम राम्रो चलिरहेको छ ।
नेपालमा हुँदा मोडलिङ पनि गर्नुहुन्थ्यो, अहिले पनि मोडलिङमा क्रियाशील हुनुहुन्छ ?
नेपालमा हुँदा मैले एसएसलसी प्रिन्सेसको उपाधि जितेकी थिएँ । हल्काफुल्का मोडलिङ पनि गरें । त्यो अहिले पनि जारी छ, हाम्रो हाइफाइभ डान्स कृउ छ, यसैबाट म्युजिक भिडियो, नृत्य प्रस्तुति तथा टिकटक बनाइरहेका छौं । सोमबार सबै साथीहरू फुर्सदमा हुँदा हामी डान्सको अभ्यास गर्छौं, मंगलबार हाम्रो टिकटक डे हो । हाम्रो समूहका सबैले टिकटक बनाउँछन् ।
टिकटकमा त खुबै चर्चित हुनुहुन्छ, के ले चर्चित बनाएजस्तो लाग्छ ?
(हा हा हा...लामो हाँसो) एक्ज्याक्टल्ली के ले चर्चित बनायो भन्नेमा म आफैं कन्फ्युज छु । मैले झन्डै एक वर्ष अघिदेखि टिकटक बनाउन थालेकी हुँ ।
यति भव्य फ्यान फ्लोइङको रहस्य के होला ?
टिकटकमा यति धेरै प्रशंसक कमाउनुको पहिलो कारण त डान्स नै हो, अर्को कुरा एक्टिङले गर्दा पनि हो कि जस्तो लाग्छ । हप्तामा एक–दुई दिन छुट्टी हुँदा हामी दुई–तीन घण्टा त टिकटक बनाउन मै खर्च गर्छौं ।
सबैभन्दा बढी भ्युज भएको भिडियो कतिले हेरेका छन् ?
‘सिट्ठी बजाए, नखरा देखाए....’ गीतको भिडियोले ७ करोड ९४ लाख भ्युज पाएको छ ।
तपाईं त सोसल मिडियामा सेलिब्रेटी, बाहिरतिर मानिसहरूले कत्ति पछ्याउँछन् ?
ट्रेनमा ट्राभल गर्नुपर्छ, नेपाली तथा भारतीयहरूले चिन्छन् । भारतीयहरू त सेल्फी लिन पनि आइरहेका हुन्छन् । नेपालीहरूले पनि चिनिरहेका हुन्छन्, तर आएर बोल्ने गरी खुल्दैनन् । आफैं मात्र खासखुस गर्छन् ।
तपाईंका बढी प्रशंसक कहाँका छन् ?
मेरा सबैभन्दा बढी प्रशंसक भारतमा छन् । मेरो हिन्दी गीतमा बनाएका भिडियो नै भाइरल भएर भारतमा प्रशंसक बढेका हुन् । त्यसबाहेक फिलिपिनो, टर्किस तथा नेपाली प्रशंसकहरू समेत छन् । म हिन्दी, अंग्रेजी तथा नेपालीमा टिकटक भिडियो बनाइरहेकी हुन्छु, त्यसमा पनि सबैभन्दा बढी त
हिन्दीकै हुन्छ ।
सोसल मिडियामा कस्ता–कस्ता प्रशंसक छन् ?
इन्डियनहरूले रेस्पेक्ट गरेर राम्रो प्रतिक्रिया दिइरहेका हुन्छन् । केही–केही त नराम्रो भन्ने पनि हुन्छन्, कतिले डान्स भएन भनेर कमेन्ट गरिरहेका हुन्छन् । नेपालीहरू चाहिँ खासै प्रेज गर्दैनन् ।
टिकटकबाट कतिपयले पैसा पनि कमाइरहेका छन्, तपाईंले चाहिँ कति कमाउनुभएको छ ?
यहाँ इभेन्टहरू भैरहेका हुन्छन्, त्यतिबेला कतिले प्रमोशन गरिदेऊ भन्नुहुन्छ । त्यसरी प्रस्तुति दिन जाँदा हामी पारिश्रमिक लिन्छौं । हामीले प्रमोसन र प्रस्तुति दुवैबाट आम्दानी गरिरहेका छौं । धेरै त छैन्, अलिअलि कमाइ चाहिँ भैरहेको छ ।
सुन्दर पनि हुनुहुन्छ, प्रेम प्रस्ताव पनि आउँछन् होला नि ?
कमेन्टमा लेखिरहेका हुन्छन्, आइ वान्ट टु मिट यू आदि । म इम्पायर कन्सल्टेन्सीमा जब गरिरहेकी छु, कतिलाई त म त्यही भेट्न आउनुहोस् पनि भनिदिन्छु ।
नृत्य र अभिनय पनि राम्रो गर्नुहुँदोरहेछ, नायिका बन्ने रहर छैन ?
यो विषयमा केही सोचेकी छैन । पहिले पढाइ सक्ने अनि त्यसपछि के गर्ने सोचौला भनेर बसेकी छु ।
अहिलेसम्म गर्न मन लागेको तर गर्न नसकेको काम ?
मलाई मिस नेपालमा भाग लिन खुब मन छ । नेपालमा भएको भए, मिस नेपालमा पार्टिसिपेन्ट गर्थे कि भन्ने सोच पनि आउँछ कहिलेकाहीं । दुई तीन वर्ष भित्रमा मिस नेपालमा भाग लिने सोच छ, हेरौं के हुन्छ ।
नेपालको कुन कुरा सबैभन्दा बढी मिस हुन्छ ?
सबैभन्दा बढी ड्याडी–ममी तथा बहिनीहरूलाई मिस गरिरहेकी हुन्छु । विदेशमा बस्दा फ्यामिली मिस हुँदोरहेछ । यसबीच म चाँडै नेपाल आउँछु होला ।