साप्ताहिक संवाददाता
पोखरा थिएटरको गर्न्धव नाटघरमा नाटकको रिहर्सल भैरहेको थियो । मञ्चमा कलाकारहरू अभ्यासरत थिए । दर्शक दीर्घाबाट उनीहरूलाई सिकाउँदै थिए– वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ । ६३ वर्षीय श्रेष्ठको निर्देशनमा नाटक ‘बाकस’ को मञ्चन तयारी भैरहेको छ । श्रेष्ठ २५ वर्षको अन्तरालपछि पुनः नाटक निर्देशन गर्न कस्सिएका हुन् ।
उनको नाटकप्रतिको प्रेम, लगाव तथा जोशले कलाकारहरू उत्साहित देखिन्छन् । ‘रंगमञ्च प्रतिको मेरो प्रेम उत्तिकै छ, नाटक प्रतिको तृष्णा मेटिएको छैन’ सरुभक्तले भने । बाकस फरक शैलीको नाटक भएको उनले बताए । बाकस प्रतिकात्मक नाटक हो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदा यो नाटक लेखेको श्रेष्ठ बताउँछन् ।
विगत र अहिले हेर्दा रंगमञ्चमा धेरै ठूलो परिवर्तन आएको छैन, नाटक उत्कृष्ट बन्न कलाकारको मेहनत जरुरी छ’ श्रेष्ठले भने । नयाँ पुस्ताका कलाकारसँग काम गर्न पाउँदा उत्साहित भएको उनले बताए । सरुभक्तले झन्डै ८० वटा नाटक लेखिसकेका छन् । उनले निर्देशन गरको नाटकको संख्या डेढ दर्जन छ ।
सुरुवातमा बाध्यताले निर्देशक भएको उनले सुनाए । ‘पहिले लेखन, निर्देशन तथा अभिनय सबै आफैंले गर्नुपर्ने बाध्यता थियो,’ श्रेष्ठले भने । बाकसमा मुलुकको परिवर्तनपछिको अवस्था चित्रण गरिएको छ जुन पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन हुने छैटौं नाटक हो ।