साप्ताहिक संवाददाता
प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को मेगा अडिसन यही वैशाख २० गतेबाट सुरु हुने भएको छ । सात प्रदेशका सात ठाउँ र डिजिटल अडिसनबाट छनोट भएका ३६३ जना प्रतिस्पर्धीले मेगा अडिसनमा सहभागिता जनाउने छन् ।
एपीवान एचडी टेलिभिजनको स्टुडियोमा हुने मेगा अडिसनको सात भाग १० दिनमा छायांकन गरिने आयोजक चाहना मिडियाका अध्यक्ष सहदेब कोइरालाले बताएका छन् ।
मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसनमा चार जना निर्णायक जयनन्द लामा, रामजी खाँड, बीबी अनुरागी र सुनिता दुलालसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने अध्यक्ष कोइरालाले जानकारी दिए ।
‘नेपाल लोक स्टार’ जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रमको ३१ औं श्रृखंला फाइन हुनेछ ।
विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।