राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी राजेन्द्र तामाङ अब नेपालले फुटबल खेल्ने आफ्नो शैलीमा परिवर्तन ल्याउनुपर्ने कुरा बताउँछन् । हाल फुटबल प्रशिक्षकका रूपमा क्रियाशील तामाङले आफ्नो शैली नहुँदा नेपाली फुटबल पछाडि परेको बताए । ‘हामीकहाँ अपोजिसनको शैली नबुझी खेल्ने बानी छ, चेञ्ज गरौं यो शैली’ उनले भने । तामाङ नेपाली फुटबलले आफ्नो अलग शैली निर्माण गर्न नसक्नुनै सबैभन्दा ठूलो कमजोरी मान्छन् ।
पोखरा महानगरपालिका–१७ ड्यामसाइडका तामाङले २४ वर्ष फुटबलमा बिताइसकेका छन् । उनले आरसिटि, मनाङ मर्स्याङदी, थ्रीस्टार, मछेन्द्र, अन्डर १६, अन्डर १९ हुँदै नेपाली राष्ट्रिय टिमबाट समेत फुटबल खेले । हाल उनले फुटबल प्रशिक्षकका रूपमा आफ्नो करियर अघि बढाइरहेका छन् । उनले २०७२ सालबाट कोचको रुपमा आफ्ना यात्रा सुरुवात गरे ।
उनकै प्रशिक्षणमा थ्रीस्टार च्याम्पियन भएको थियो । उनले एपीएफ क्लबको कोचका रूपमा पनि काम गरिसकेका छन् । उनलाई कोचभन्दा खेलाडी हुँदैका दिन रमाइलो लाग्छन् । ‘कोचमा दबाब हुन्छ, खेलाडीहरूको बानी व्यवहार, खेलको शैली, व्यवस्थापन आदि सबै तिर ध्यान पुर्याउन गाह्रो हुन्छ’ तामाङले भने ।