साप्ताहिक संवाददाता
पुर्व मिस नेपाल निकिता चाण्डक अभिनेत्री बन्ने भएपछि एकाएक निकै चर्चा भयो । चर्चा हुनुको एउटा कारण उनले सर्वाधिक महंगो पारिश्रमिक १० लाख बुझेकी थिइन् । उनले अभिनय गर्ने पहिलो चलचित्र पाल्पामा सुटिङ सुरु भयो, पाल्पा गइन् उनी । केहि हप्ता छायाँकन भयो । त्यसपछि काठमाण्डौं फर्किइन् । दोस्रोपटक पुनः हँसिलो अनुहारसहित प्लेनमा पाल्पा गएकी निकिता केहि दिनपछि मलिन अनुहारका साथ भैरहवास्थित गौतमबुद्ध एयरपोर्टमा देखिइन् ।
निकितालाई त्यतिबेला कान्तिपुरका रामजी ज्ञवालीले एउटा प्रश्न तेर्साए, किन तुरुन्तै फर्कनुभयो ? उनले भनिन्, ‘चलचित्र सुटिङ रोकिएको छ, खै के भैरहेको थाहा भएन ।’ मिस नेपाल भएपछि पहिलोपटक चलचित्रमा काम सुरु गरेकी निकिताको संकेत खासै ठिक थिएन । उनले काम गर्ने भनिएको पहिलो चलचित्र थियो, रानीमहल । उक्त चलचित्रको छायाँकन एकाएक रोकिएपछि निकितालाई तनाब भएको रहेछ भन्ने केहि दिनपछि सार्वजनिक भयो ।
चलचित्रको २० प्रतिशत काम सकिएपछि निर्माता र निर्देशक बिचमा विवाद उत्पन्न भएपछि उक्त चलचित्रको छायाँकन रोकिएको थियो । त्यसपछि चलचित्र यत्तिकै रोकिएको छ । स्रोतका अनुसार अब यो चलचित्र निर्माण नहुने पक्का छ, निर्माताको २ करोड हाराहारी खर्च भैसकेको छ ।
निकिता दोस्रोपटक अर्को चलचित्रमा फाइनल भइन् । उनले काम गर्ने सम्झौता पनि भयो । विराज भट्टले निर्माण तथा निर्देशन गर्ने भनिएको चलचित्र साङ्लो फागुनमा सुटिङ हुने भनिएको थियो । यद्यपी, उक्त चलचित्र अहिलेसम्म फ्लोरमा जान सकेको छैन । निकिताले यो चलचित्रमा पनि राम्रै रकम बुझेको बताइन्छ । हालै मात्र उक्त चलचित्रका निर्देशक विराज भट्टले प्राविधिक शंकर पाण्डेमाथि हातपात गरेको खबर सार्वजनिक भएको छ । पाण्डेले समेत चलचित्र समयमै सुरु हुन नसकेपछि चलचित्र छोड्न खोजेका थिए । सोहि विषयमा विवाद भएपछि हातपातको स्थिती सिर्जना भएको थियो ।
पहिलो चलचित्र २० प्रतिशत नसकिँदै रोकिएको निकिताको भाग्य दोस्रो चलचित्रको सुटिङ नहुँदै फेरी अर्कोपटक रोकिएको त छैन ? त्यो भने हेर्न बाँकी छ ।