साप्ताहिक संवाददाता
अभिनेता प्रदीप खड्कालाई स्टार बनाउने चलचित्र प्रेमगीतको तेस्रो सिक्वेलका लागि मिस नेपाल इन्टरनेसनल–२०१८ नीति शाहसमक्ष प्रस्ताव राखिएको बताइन्छ । चलचित्रका निर्माताले नीतिलाई प्रेमगीत–३ को वानलाइन स्टोरी सुनाइसकेका छन् । हालै चलचित्र लभ स्टेशन हेर्न बिग मुभिज पुगेकी नीतिले समेत आफूलाई प्रेमगीत–३ बाट अभिनयको प्रस्ताव आएको स्वीकार गरेकी थिइन् ।
‘अहिलेसम्म निश्चित चाहिं भैसकेको छैन, नीतिले भनेकी छिन्— ‘अभिनय गर्ने सम्भावना भने छ । स्क्रिप्ट मन पर्यो भने प्रेमगीत–३ मा अभिनय गर्न सक्छु । मलाई प्रदीपसँग काम गर्न मन पनि छ ।’ चलचित्रका निर्माता सन्तोष सेनले पनि नीतिले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्न सक्ने सम्भावना रहेको बताए ।
‘हामीलाई नीति जस्तै अनुहार भएकी अभिनेत्री चाहिएको छ,’ सेन भन्छन्— हामी नीतिलाई लिने कुरामा सकारात्मक छौं । अघिल्लो वर्ष नीतिले प्रदीपसँग गरेको डिसहोमको टिभिसीलाई दर्शकले निकै मन पराएका थिए ।