अबको फेसन

- साप्ताहिक संवाददाता

वैशाख ११, २०७६

वर्ष २०७६ को फेसनमा चेक्सको पुनरागमन हुने अनुमान गरिएको छ, जसअन्तर्गत ८० को दशकताका अत्यन्त लोकप्रिय ब्ल्याक एन्ड ह्वाइट स्क्वायर चेक्स प्याटर्नले एकपटक फेरि लोकप्रियता पाउनेछ । फेसनविद्हरूका अनुसार वर्ष २०७५ मा धुम मच्चाएको एनिमल प्रिन्टको प्रभाव वर्ष २०७६ मा समेत कायमै रहनेछ, जसअन्तर्गत लियोपार्ड स्पट्स, जेब्रा पिन्ट, स्नेकस्किन बढी लोकप्रिय हुने बताइएको छ । यसैगरी वर्ष २०७५ मा लोकप्रिय रहेको टाइ एन्ड डाइ स्टाइलले पनि वर्ष २०७६ मा निरन्तरता पाउने अनुमान गरिएको छ । 

यो वर्ष ट्रेन्च कोटको आकर्षण पनि कायमै रहनेछ । यसमा स्लिभलेस भर्सनको प्रचलन बढ्ने अनुमान छ । यसैगरी टक्सिडोसित बढी प्रयोगमा आउने बोलाई यो वर्ष रुचाइने बताइन्छ ।

न्यानो फेसनमा भने निट वेयरको प्रधानता रहनेछ । पातलो ड्रेपी निट ड्रेसदेखि स्वेटरसम्म सबैका लागि प्रिय हुनेछ । यो वर्ष क्रोसेट शैलीले पनि लोकप्रियता पाउनेछ । च्यसबाहेक क्रोसेटका सर्ट, स्कार्फ र अन्य पहिरनको माग दोहोरिनेछ । न्यानोपन महसुस गर्न चाहनेहरूका लागि यो उपयुक्त विकल्पका रूपमा देखा पर्नेछ । सदावहार जिन्स ज्याकेटप्रतिको मोह कायमै रहनेछ । यसअन्तर्गत सबै खालका जिन्स ज्याकेटसँगै डेनिम तथा सफ्ट जिन्सका ज्याकेट, डिस्ट्रेस्ड, एम्बेलिस्ड तथा क्लासिक स्टाइलप्रति मानिसहरूको आकर्षण देखिनेछ । 

५० को दशकताकाको पोल्का डटेड ड्रेसको पनि पुनरागमन हुनेछ । यसअन्तर्गत ड्रेस, स्कर्ट, टप देखि ब्याग, फुटवेयर, स्कार्फ लगायतका फेसन एक्सेसरिजले लोकप्रियताको नयाँ मापदण्ड कोर्ने अनुमान छ । यसपटक मिक्स फ्लोरल प्रिन्टले पनि आफ्नो जादू देखाउनेछ । यसअन्तर्गत लो वेस्ट स्टाइलको प्रभाव बढ्ने बताइएको छ । त्यसबाहेक ट्युल ड्रेस तथा टप्सले यौवनाहरूलाई आकर्षित गर्नेछ । 

२० को दशकताका लोकप्रिय फ्रिन्ज स्टाइल ८० को दशकमा परिमार्जित भएर फर्किएको थियो । यसपटक ती दुवै समयको फ्रिन्जले आफ्नो उपस्थिति देखाउनेछ । ब्याग, ड्रेस, भेस्ट तथा फुटवेयरमा समेत यसको प्रभाव देखिनेछ । यो वर्ष वार्डरोब सियर फ्याब्रिक पनि लोकप्रिय हुने अनुमान बताइएको छ । यो वर्ष आरामदायक, स्टाइलिस र ट्रेन्डी पनि देखिने छोटा परिहनको प्रयोग पनि उत्तिकै बढ्नेछ । त्यसबाहेक ८० को दशकताकाको हाइवेस्टेड पाइन्ट तथा स्कर्ट एकपटक फेरि फर्कने अनुमान छ । त्यसमा पनि विशेषतः ट्राउजर तथा लेदर स्कर्टमा हाई वेस्टेड स्टाइल बढी चल्तीमा रहनेछन् ।

 

प्रकाशित :वैशाख ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×