साप्ताहिक संवाददाता
नयाँ वर्ष २०७६ को पूर्व सन्ध्या पारेर प्रदर्शन भएका दुई चलचित्र ए मेरो हजुर–३ तथा यात्राः अ म्युजिकल भ्लग व्यवसायिक रूपमा सफल भएका छन् । व्यवसायका दृष्टिकोणले ए मेरो हजुर–३ ले यात्रालाई पछि पारेको छ ।
यद्यपि, दर्शकले दुवै चलचित्रलाई उत्तिकै मन पराएका छन् । दुवै चलचित्र एकैदिन प्रदर्शन भएपछि केही कलाकार तथा प्राविधिकलाई भने फाइदा पुगेको छ । दुवै चलचित्रले दर्शक बटुलेपछि त्यसको प्रत्यक्ष फाइदा अभिनेता सलोन बस्नेतलाई मिलेको छ ।
सलोनले दुवै चलचित्रमा सह–अभिनेताको भूमिका निर्वाह गरेका छन् । कलाकार रेयर राई पनि दुवै चलचित्रमा छन् । प्राविधिकतर्फ छायांकार राजेश लामा पनि दुवै चलचित्रमा छन् । दुवै चलचित्रका पोस्टर टौवा क्रिएसनले निर्माण गरेको हो । अर्को रोचक कुरा के भने यी दुवै चलचित्रका द्वन्द्व निर्देशन पनि एकै जनाले गरेका हुन्— हिमाल केसीले ।