साप्ताहिक संवाददाता
नौलो काम गरेर कीर्तिमान कायम गर्ने चाहना धेरैमा हुन्छ । सांगीतिक क्षेत्रमा समेत नौला–नौला काम गरेर कीर्तिमान कायम गर्ने श्रष्टाहरूको कमि छैन । गीतकार डिआर उपाध्याय सांगीतिक क्षेत्रमा चर्चामा आइरहने श्रष्टा हुन् । महिनै पिच्छे आफ्नो रचनाका गीतका म्युजिक भिडियो सार्वजनिक गरिरहेका यी गीतकारले केही महिनाअघि सांगीतिक क्षेत्रमै इतिहास रच्ने शैलीको काम गरे ।
यसै साता सोध न तिमी आफैंसँग...गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका गीतकार उपाध्ययले एउटै समारोहमा सातवटा कृति लोकार्पण गराएर कीर्तिमान कायम गरेका हुन् । त्यसक्रममा उपाध्यायले रचना गरेका सहेली, हिमाली लय, अन्तराप, प्रतिनाद, नशालु नजर, जोहो, प्रणय तथा जखम शीर्षकका सातवटा गीति संग्रह एकै पटक सार्वजनिक गरिएको थियो ।
त्यतिमात्र होइन, त्यही समारोहमा गीतकार उपाध्यायद्वारा लिखित सात वटा कृति समेत सार्वजनिक भए । बज्राघात, बिटुली, त्यागी, स्वार्थी, भाग्यचक्र, अपविक्र छायाँ, अतिरित्त तथा दशाबाज शीर्षकका कृतिलाई एउटै समारोहमार्फत सार्वजनिक गर्ने पहिलो श्रष्टा समेत उपाध्याय नै हुन् ।