साप्ताहिक संवाददाता
वैशाख १३, २०७६
काठमाडौं सिनामंगलमा हालै खुलेको लेकाली किचन एन्ड कटिया हाउसले च्याङग्राको सुकुटीको स्वाद चखाउन थालेको छ ।
परम्परागत खाना पस्कने उद्देश्यका साथ खुलेको उक्त रेस्टुराँमा च्याङ्ग्राको सुकुटीका साथै कालिजको मासुको परिकार, दाङ र बर्दियाको लोकल कुखुरा बधियाको मासु, फापर, कोदो र मकैको ढिँडो तथा रोटी पनि पाइन्छ ।
मार्सी चामलको भात र मुस्ताङको आलुको परिकार अनि रौतहटको कटिया यो रेस्टुराँको अर्को आकर्षण हो ।
सञ्चालक मधुसूदन ढकालका अनुसार यो रेस्टुराँले च्याङ्ग्राको सुकुटीको ६ सय रुपैयाँ, मुस्ताङ आलुको १ सय ५० रुपैयाँ, दाङको बधिया कुखुरा वा कालिजको मासुसहितको खाना सेट ७ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।