सामाजिक हिसाबले हेर्दा अहिले पनि लिंग शब्दको अर्थ महिला तथा पुरुष नै भनेर बुझिन्छ, तथापि तेस्रो लिंगी वा अन्य नखुलेका व्यक्ति पनि अहिले समाजमा अगाडि आइरहेका छन् । हामीले बुझ्नुपर्ने कुरा के पनि छ भने समाज अथवा राज्यले महिला वा पुरुषलाई कस्तो भूमिका प्रदान गर्छ, अधिकार र साधन–स्रोतको बाँडफाँड कसरी हुन्छ, त्यसको प्रयोगको पहुँच उपलब्धता कसरी हुन्छ ? मानिसमा कस्तो व्यवहार र मानसिकता विकास गर्न सिकाउँछ त्यसको बोध गर्नु नै लैंगिक आधार हो ।
हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाहरू पुरुषको अधीनमा रहेर परिस्थितिको जिम्मेवारी तिनीहरूको शरीर वा शारीरिक बनावटलाइ अन्यायपूर्ण सोचाइको सामना गर्नुपर्ने परिस्थितिले लिंगको अवधारणा आएको देखिन्छ । सदियौंदेखि के मानिँदै आयो भने महिला–पुरुष चरित्रिक विशेषता मात्र हुन् । तिनका भूमिकाहरू र समाजमा प्राप्त हुने दर्जा आदि सबै तिनका जैविक वा शारीरिक भिन्नताले निर्धारण हुन्छन् । शरीरका कारणले नै महिला र पुरुषबीचको अन्तर तथा भेदभावको विकास भएको देखाउँछ ।
साँच्चै भन्ने हो भने उनिहरूबीचको समानता सामान्य र प्राकृतिक हो अनि त्यसलाई हटाउन केही आवश्यकता नै पर्दैन । यौन तथा शारीरिक बनावटसँग सम्बन्धित कुरा सामान्य हुन् । प्रत्येक प्राणीमा भाले वा पोथी मिलेर बच्चाबच्ची जन्मन्छ भन्ने कुरा सबैलाई थाहै छ । तिनै बच्चाबच्ची बिस्तार–बिस्तारै लोग्नेमान्छे वा स्वास्नीमान्छेमा रुपन्तरित हुन्छन् । समाजले उनीहरूलाई पुरुषोचित वा स्त्रीका विशेषताहरूका साथ विकसित गर्छ । तिनका गुण एवं व्यवहार गर्ने तरिकाहरू भूमिका र जिम्मेवारी अधिकार र अपेक्षाहरू पनि फरक–फरक हुन थाल्छन् ।
यौनको जानकारी तथा पहिचान जैविक विशेषताका आधारमा हुन्छ । यौन प्रकृतिक देन हो । यो स्थायी हुन्छ, हरेक गाउँ वा समाजमा शारीरिक रूपले स्त्री–पुरुषका अंग उही नै हुन्छन् । जव स्त्री र पुरुष यौवनावस्थामा प्रवेश गर्छन्, उनीहरूमा शारीरिक वृद्धिसँगै यौनांगहरूको संरचना एवं क्रियाकलापमा परिवर्तन आउँछ । यौन अवस्थामा दुई प्रकारका विशेषता देखा पर्छन्— प्रारम्भिक र माध्यमिक ।
प्रारम्भिक भन्नाले यौनाङ्गमा आउने परिवर्तनले यौनरस तथा जीव कोषिकाहरू उत्पन्न हुन थाल्छन् । यौवनको मूल लक्षण केटीमा रजस्वला हुनु र केटामा स्वपनादोष हुनु हो । यौन रसको उत्पादनमा आउने वृद्धिले युवा–युवतीमा यौनाकर्षण देखा पर्छ, तर रुढिवादी समाजमा युवा–युवतीको यौनचाहना परिपूर्तिमा रोक लगाइन्छ । बुझ्नुपर्ने कुरा यौन प्रकृतिक देन हो, यसलाई रोकेर रोक्न सकिँदैन भन्ने हो । जति नै नियम–कानुन भए पनि लुकिछिपी भए पनि मानिसहरूले आफ्नो उक्त चाहना परिपूर्ति गरिरहेका हुन्छन् ।
अहिले मानिसलाई विज्ञान र प्रविधिले निकै सहज बनाएको छ । कतिले यसलाइ सदुपयोग गरिरहेका छन् कतिले दुरुपयोग । इन्टरनेटको माध्यमबाट पनि यौन चाहना पूर्ति गर्नेहरूको ठूलो संख्या छ । हाम्रो देशमा खुलेआम यौन क्रियाकलाप बर्जित छ, यौनले समाजलाई बिगारिरहेको छ भन्ने एकथरीको तर्क छ । विकसित देशहरूमा बढी स्वतन्त्रता छ, तथापि समाज सभ्य नै छ । प्रमुख कुरा यौनलाइ कसरी लिने भन्ने हो । हरेक नेपालीले कस्तो खालको यौन शिक्षा लिइरहेका छन् भन्ने हो । सबैभन्दा ठूलो खाडल भनेको हाम्रो देशमा मानिसहरूलाई यौन शिक्षाबाट वञ्चित गरिनु नै हो । त्यसले गर्दा अपराधकर्म बढिरहेका छन् । कानुनले बन्देज लगाए पनि बर्सेनि बलात्कारका घटना बढिरहेका छन् । सभ्य समाज निर्माणका लागि यौन शिक्षालाई बर्जित वस्तु होइन, खुल्ला बहसका रूपमा लिएर अघि बढ्नु उपयुक्त हुन्छ ।
(अधिकारी मानोविज्ञानमा स्नातकोत्तर अध्ययनरत छिन् ।)