जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्वको जन्मठाउँ कास्कीको बाटुलेचौरका गन्धर्वहरूलाई गन्धर्व संस्कृति अँगालेर जीवन धान्न मुस्किल पर्न थाल्यो । आर्थिक अवस्थाका कारण उक्त समुदायका युवायुवती स्कुल जान सकिरहेका थिएनन् । नेपाली मौलिक संगीतप्रतिको आकर्षण घट्दै पाश्चात्य संगीतको प्रभाव बढ्दै थियो । उनीहरूमा निराशा बढ्यो अनि पुस्ता हस्तान्तरण हुँदै आएको पेसाप्रतिको मोह पनि घट्दै गयो ।
फलस्वरूप बिस्तारै उनीहरूले आफ्नो पुर्ख्यौली पेसा छाड्न थाले । यसै क्रममा पूर्ण नेपालीले मौलिक संगीतको संरक्षणमा सहयोग गर्न चाहनेहरूको एउटा टोलीलाई बाटुलेचौर पुर्याए । तिनीहरूले बस्तीका बालकहरूलाई छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था मिलाए । भविष्य राम्रो हुने आशामा गन्धर्व अभिभावकहरू सानो उमेरका आफ्ना छोराहरूलाई काठमाडौं पठाउन राजी भए । काठमाडौंको ग्यालेक्सी स्कुलमा पढ्दै संगीतको ज्ञान समेत लिने मौका पाए ती बालकले । ६० को दशकको सुरुवातमा काठमाडौं हान्निएका उनीहरूले संगीतको छुट्टै कक्षाका साथ विभिन्न बाजा बजाउने कलासमेत सिक्न पाए । पछि उनीहरूका लागि पोखरा एकेडेमीमा छात्रवृत्तिमा पोखरामै अध्ययन गर्ने बन्दोबस्त मिलाइन्छ ।
प्रवेशिका उत्तीर्ण गरेपश्चात् उनीहरूको ध्यान सांगीतिक क्षेत्र बढ्छ, अनि उनीहरू नेपाली मौलीक बाजाको संरक्षण र यसको महत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न संगठित हुन्छन् । यही धरातलमा टेकेर गन्धर्व बस्तीबाट जन्मन्छ— लक्ष्य ब्यान्ड । सन् २०१२ मा स्थापना भएको यो ब्यान्डले आफूलाई नेपाली मौलिक बाजाको संरक्षणमा समर्पित गर्दै आएको छ ।
ब्यान्डको प्रस्तुतिलाई उत्कृष्ट बनाउन ६ जना प्रतिभावान् युवाले मेहनत र लगानी गरेका छन् । रञ्जन गायक बाँसुरी र मादल बजाउन अब्बल छन् । विवेक गायकले धिमे र मादल बजाउँछन् । सारंगीको धुन पुष्कल गायकले निकाल्छन् । समीर गायकले राम्रो खिसँगै सारंगी बजाउँछन् । अशोक गायकले इफेक्ट खेलाउँदा सुदीप गायकले बाँसुरीको धुन निकाल्छन् । यसरी उनीहरूको कम्बिनिसेनमा नेपाली मौलीक बाजाको उत्कृष्ट धुन तयार हुन्छ, जुन धुनले हाम्रो मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ । लक्ष्य ब्यान्डका म्यानेजर धीरज गुरुङ हुन् । उनले ब्यान्डको व्यवस्थापनका साथै संगीत कम्पोजिसनको जिम्मेवारी लिएका छन् ।
नेपाली मौलिक बाजा पुस्तौंपुस्तासम्म हस्तान्तरण गर्ने लक्ष्य साथ ब्यान्डको नाम लक्ष्य राखिएको म्यानेजर गुरुङ बताउँछन् । उनीहरू कुटुम्ब ब्यान्डबाट प्रभावित छन् । ब्यान्ड मेम्बरका अतिरिक्त विशाल गायक, कमन गायक, अविनाश गायक, विमल गायक, अनिश गायक, नवीन विक, अनुप गजमेर संगीत गायक आदिले समेत नेपाली मौलिक बाजा बजाउने उनीहरूको अभियानमा साथ दिने गरेका छन् ।
नेपाली बाजाको सामग्री घामपानीका कारण छोटो समयमै बिग्रने भएकाले परिवर्तन गरिहनुपर्ने पर्दा यो ब्यान्डलाई समस्या हुने गरेको छ । ब्यान्डसँग स्पोन्सर छैनन् । आफ्नै पैसाले सबै खर्च जोहो गर्दा गाह्रो हुन्छ । ‘पहिले ५० हजारमा सबै बाजा किन्न सकिन्थ्यो । अहिले एउटै सारंगीलाई २६ हजार पर्छ ।’ म्यानेजर धीरज गुरुङले भने । अब ट्रेनिङ इन्स्टिच्युट खोलेर नेपाली बाजा निःशुल्क सिकाउने सोच यो ब्यान्डको छ ।
उनीहरूले रेकर्ड गरेको दसैंको मंगल धुन मालाश्रीसँगै मखमली चोली चाहिँदैन धेरैले रुचाएका छन् । ब्यान्डले सबैसामु चिनिन कभर गीत तयार गर्ने कुरामा पनि ध्यान दिइरहेको छ । यो ब्यान्डसँग आफ्नै कम्पोजका गीत पनि तयार छन् । ती गीत एल्बमका रूपमा संग्रहित गर्ने योजना ब्यान्डले बनाएको छ । नेपाली बाजालाई अलिकति फरक स्वादमा बजाउँदै नयाँ पुस्ताको आकर्षण बढाउने रणनीतिक लक्ष्य ब्यान्डले अपनाएको छ ।
नेपालका विभिन्न ठाउँमा प्रस्तुति दिइसकेको लक्ष्य ब्यान्डले भारतसम्म पुगेर समेत नेपाली मौलीक बाजाको स्वाद चखाइसकेको छ । आर्थिक उर्पाजनभन्दा पनि ब्यान्डलाई टीकाउने र समस्या भएको ठाउँमा सहयोग गर्ने योजना यो ब्यान्डले बनाएको म्यानेजर धीरजले बताए । ‘वर्षमा एक–दुईवटा कन्सर्ट गरेर भए पनि नेपाली मौलिक बाजाको महत्व नयाँ पुस्तालाई बताउँछौं,’ उनले भने ।
अहिले बाटुलेचौरमा सारंगी बजाउने तीन–चार जना अग्रज मात्र भए पनि नयाँ पुस्ताले सिक्ने क्रममा भने वृद्धि भएको छ । पुरुषका अतिरिक्त महिलाहरूले पनि सारंगी सिक्न थालेका छन् । अहिले बाटुलेचौरमा सारंगी बजाउने तीन–चार जना महिला रहेको लक्ष्य ब्यान्डका सदस्य विवेक गायकले बताए । लक्ष्य ब्यान्डले गुरुङ, मगर, थारु आदि जातजातिको बाजा अध्ययन गरी त्यस्ता बाजा बजाउन सिकिसकेको म्यानेजर गुरुङले जानकारी दिए ।