साप्ताहिक संवाददाता
वैशाख १५, २०७६
अभिनेता नाजिर हुसेनलाई वर्ष २०७५ फापेन । गत वर्ष उनले अभिनय गरेका दुई चलचित्र गरुड पुराण तथा कागजपत्र प्रदर्शनमा आएका थिए, दुवै चलचित्र व्यवसायिक रूपमा असफल भए । अभिनेत्री वर्षा शिवाकोटीको स्थिति पनि उस्तै छ ।
गत वर्ष वर्षाले अभिनय गरेका तीन चलचित्र भैरे, जय शम्भु तथा पुरानो बुलेट प्रदर्शनमा आए पनि कुनैले दर्शकको मन जित्न सकेनन् । अघिल्लो वर्ष आफ्ना चलचित्रबाट निराश भएका यी दुवै अभिनेता–अभिनेत्री यतिबेला आफ्नो एउटा नयाँ चलचित्रप्रति उत्साहित छन् ।
यी दुवैले सँगै अभिनय गरेको चलचिक्र वीरवित्रम–२ जेठको पहिलो साता प्रदर्शनमा आउँदैछ । चलचित्रका प्रचार सामग्रीलाई दर्शकले मन पराएका कारण पनि उनीहरू उक्त चलचित्रको सफलताप्रति आशावादी देखिएका हुन् ।