धामीझाँक्रीको भेषमा ‘टुना–मुना’ (तन्त्र मन्त्र) फुकेर ख्वाएको विषालु पदार्थले लठ्याएपछि लुटपाट गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामीण बस्तीका सोझा मानिसलाई ‘टुना–मुना’ गरी आफ्नो कब्जामा पारेर लुटपाट गर्ने इटहरी उपमहानगरपालिका– १७ का २९ वर्षीय मोहमद अली तथा उनकी २२ वर्षीया श्रीमति हजरा खातुनलाई प्रहरीले खोजी गरेको १० महिनापछि पक्राउ गरेको हो ।
लामो समयको अनुसन्धान र निगरानीपछि जिल्ला प्रहरी कार्यालय मोरङले विशेष प्रहरी परिचालन गरी लुटपाट गर्ने उक्त दम्पतीलाई विराटनगर – ४, बरगाछी चौकबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । ‘धार्मिक कुराकानी गरी लठ्याएर लुटपाट गर्न यी दम्पती गाउँ–गाउँमा पुग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो,’ उनले भने, ‘हुने–खाने र सोझासिधा मान्छेसँग गफगाफ गर्दै सुरुमा धार्मिक कुराकानी गर्छन् । त्यसपछि टुना–मुना लगाएर लठ्याउँछन् ।
विषालु पदार्थ ख्वाएर अर्धचेत बनाएपछि उनीहरूको साथमा भएको रकम तथा गरगहना लुटपाट गरेको देखियो ।’ पक्राउ परेका दम्पतीले मोरङको लेटाङ नगरपालिका –५ का ४० वर्षीय सुनिता तथा ४५ वर्षीय प्रेम लिम्बुको नगद र गरगहना गरी २ लाख मूल्य बराबरको धनमाल असार १८ गते लुटपाट गरेको डीएसपी श्रेष्ठले बताए । उनीहरूले सुनिताले लगाएको सुनको सिक्री, कानमा लगाउने पिंजडा, सुनको बाला र नगद ५ हजार रुपैयाँ लुटेका थिए ।
‘टुना–मुना लगाएर लुटपाट गर्ने गिरोह नै रहेको अनुसन्धानबाट देखिएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘अहिले यो दम्पती पक्राउ मात्र परेको छ, अन्य फरार छन् ।’ प्रहरीले फरार भएकाहरूको खोजी तीव्र बनाएको बताएको छ । प्रहरीले फरार भएका गिरोहका सदस्यहरूको नाम भने गोप्य राखेको छ । पक्राउ परेका दम्पतीसहितको पाँच जनाको समूहले मोरङका विभिन्न ठाउँमा लुटपाट गर्दै आएको प्रहरी स्रोतको दाबी छ । फरार भएका गिरोहका सदस्य पनि पक्राउ परेका दम्पतीका आफन्त नै भएको प्रहरीले जनाएको छ । विशेष गरी उनीहरू पहाडी भेगमा पुग्ने प्रहरी अनुसन्धानबाट देखिन्छ ।
‘यो समूहबाट पीडित भएर उजुरी हाल्ने अहिले एक जना मात्र छन्,’ डीएसपी श्रेष्ठले भने, ‘अरू थाहा पाएपछि आउन सक्छन् ।’ प्रहरीको अनुसन्धानकै क्रममा रहेकाले यो गिरोहबाट कति जना लुटिए त्यो भने खुलिनसकेको प्रहरीले जनाएको छ । ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘थप जानकारी विस्तारै खुल्नेछ । पक्राउ परेका दम्पतीलाई बिहीवार मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ बमोजिम जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान भैरहेको डीएसपी श्रेष्ठले बताए ।
यसरी लुटपाट गर्थे
सहरका मानिसहरू चनाखो हुने भएकाले उनीहरूको रोजाइमा गाउँ नै पर्ने गरेको थियो । हुनेखाने र गरगहना लगाउने महिला फेला परे उनीहरूसँग गफिन्थें । उनीहरूको मनको चाहना बुझ्थे अनि त्यहीअनुसार कुराकानी थाल्थे । टुना–मुना तथा तन्त्र विद्या जानेको हुनाले पक्राउ परेको दम्पतीले विभिन्न भगवान्को नाम जप्दै एउटा छुट्टै लय भट्याउँथे । आफ्नो विधि पूरा गरिसकेपछि शिवजीको प्रसाद हो, यसले फलिफाप गर्छ भन्दै रातो टीका लगाइदिन्थे । त्यसपछि भगवानको प्रसाद भन्दै विषालु पदार्थ दिन्थे । प्रसाद भएको हुनाले लुटिने सुनिता र प्रेमले त्यसलाई सहज रूपमा लिए । उक्त प्रसाद खाएपश्चात् उनीहरू अर्धचेत भए अनि त्यही मौकामा लुटपाट गरी यो दम्पती फरार भएको बताइन्छ ।